सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।
भदौ १ गते अर्थात् महिनाको पहिलो दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ । यो चाडमा आफ्ना मान्यजन र छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । यसैगरी विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।
सदियौँदेखि मानाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको धनगढी गाउँका स्थानीयवासी हिरालाल जोशीले बताउनुभयो । फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । खासगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा यो चाड हर्षोल्लासपूर्वक मनाइने गरेको छ ।
परापूर्वकालदेखि नै ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती छ । ‘बिशु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइ पर्व हो । चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउने लगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केहीमात्रामा घट्दै गएको स्थानीय अगुवाको भनाइ छ ।
पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली समाजमा सदियौंदेखि मनाइँदै आएका कतिपय ऐतिहासिक र मौलिक चाड बिस्तारै हराउन थालेको भए पनि यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको देखिन्छ । नेपाली सञ्चारमाध्यमले पनि स्थानीय चाडपर्वको महत्व र ऐतिहासिकतालाई उचित स्थान नदिएको कारण पनि मौलिक चाड पर्व हराउनमा मद्दत पुगिरहेको स्थानीय अगुवा नवराज भट्टको भनाइ छ ।
यस वर्ष भने विश्वव्यापी महामारीका रुपमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण विगतका वर्ष जस्तो चहलपहल भने रहेको छैन । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ ।