महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ ।
बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो । पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ । खासगरी बर्खायाममा पानी कति बढ्यो र घट्यो भनेर हेरिन्छ । पानिको सतह बढे पूर्वसूचनाका आधारमा उचित व्यवस्थापन गर्न र सचेत रहन मद्दत पुग्छ । सोमबार मात्रै महाकाली नदीमा पानीको सतह निकै बढेको थियो । पानीको सतह खतरासम्म पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइन्छ । साइरन बजाएरसमेत सचेत गराइने गरेको छ । परशुरामको गेजले कञ्चनपुरको भुजेलासम्मका बासिन्दालाई सचेत रहन मद्दत पुग्छ ।
स्थानीयवासी स्वयंले पनि यसबाट जानकारी लिन सक्छन् । यसले बाढीबाट हुने सम्भावित जोखिमको क्षति कम गर्न सहयोग गरेको छ । मेसिन चार्जका लागि सोलार पाता जडान गरिएको छ । यस क्षेत्रमा सञ्चालनमा आउने नेटवर्कमा नेपाल टेलिकम र एनसेलको सिम कार्ड राखिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको अनलाइनमार्फत जानकारी लिन सकिन्छ । नेटवर्कले काम नगरेका खण्डमा स्थानीयवासीलाई पनि खटाउने गरिएको छ । महाकाल किनारमा पानीको सतह नाप्ने गरी संरचना बनाइएका छन् । यसका आधारमा रिपोर्टिङ गरिने गेज रिडर डम्बरदत्त जोशीले बताउनुभयो । अन्य समयमा दैनिक चार पटक रिपोर्टिङ गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “वर्षात्को समयमा भने पूरै दिन गेजमै बस्नुपर्ने हुन्छ । कुन बेला पानीको सतह बढ्छ भन्ने पत्तो नहुने भएकाले दिनभरि नै गेजमा बसी जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तो प्रविधि नेपालका ठूला नदीमा जडान गरिएको छ । यो पूर्वसूचना प्रणालीको एक माध्यम हो । नदीमा पानीको सतह कम भएका बेला हिउँदमा नदीमा पानीको सतह मापन गरी पाइप जडान गरिन्छ । पाइपभित्र बब्लर राखिन्छ । यसले पानीको सतह बढेको वा घटेको बारे आफँै जानकारी दिने यस क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजना संयोजक तथा स्थानीयवासी अमर साउदले बताउनुभयो ।
रुडुक डडेल्धुराद्वारा सञ्चालित परियोजनाले परशुराम नगरपालिका– ५ र ६ का समुदायमा समन्वय र सचेतनाका क्षेत्रमा काम गरिरहेको छ । महाकालीमा ६५ प्रतिशत पानी भारततर्फका नदीबाट आउने गरेको छ । यसले गर्दा दार्चुलामा राखिएको गेजले दिने जानकारीमा फरक पार्छ ।
पानीको सतहबारे हाइड्रोलोजी र मेट्रोलोजी वेबसाइटमा हेर्न सकिन्छ । पानीको सतह सामान्य, मध्यम र उच्च तह भनी दिइएको छ । उच्च तहमा पुग्नेबित्तिकै खतराको सङ्केत दिने एमरेड परियोजना संयोजक गणेश थापाले बताउनुभयो ।