रमेश गिरी
भक्तपुर, २७ साउन - बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ । विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ । पानीको खुद्रा व्यापार गर्दै आउनुभएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताउनुभयो । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पानीको गुणस्तर निर्धारण र कायम गराउन नसक्ने विभागले पानीको मूल्य बढायो । एक साता अघि मात्रै थिमि चारदोबाटो र झौखेलमा गरी चारवटामा फोहोर पानी बिक्री गरेको पाएपनि कारबाही गरेन र व्यापारीको चङ्गुलमा परेर विभागले पानीको मूल्य बढायो ।”
विभागले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पानीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । सरकारी निकायले नै मूल्य बढाएपछि रु ३५ देखि ४० सम्ममा बिक्री गर्दै आएको एक जार पानी अब ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ ।
उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताउनुभयो । पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उहाँको आरोप लगाए ।
पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा वकालत गर्दै आएको थियो । पानी व्यवसायीले आफँैले गाडी खरिद गरी ढुवानी संघ नै गठन गरी पानी र ढ्वानीको फरक मूल्य निर्धारण गरी पानी बिक्री गर्दा पनि उपभोक्ताले प्रति जार रु ४० भन्दाबढी तिर्नु पर्दैनथ्यो तर अब उपभोक्ताले रु ५० तिर्नु पर्ने भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पानीको मूल्य वृद्धि हुँदा स्वभाविकरुपमा उपभोक्ता मारमा पर्ने बताउनुभयो । उपभोक्ताबाट यसको विरोध आउनु स्वभाविक भएको जनाउँदै सरकारले पानीको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अधिकांश पानी उत्पादन गर्ने कम्पनीका पानी गुणस्तरहिन रहेको दाबी गर्दै उहाँले जारको पानी सफा र स्वस्थ्यक प्रद्र्धक छ भनेर ढुक्कसँग पिउने अवस्था नरहेको बताउनुभयो । केहीदिन अघिको अनुगमनमा थिमिको एक पानी उत्पादन गर्ने ठाउँ शौचालयजस्तो फोहोर रहेको र धेरै पानी उत्पादन गर्ने ठाउनै गुणस्तरहिन रहेको उहाँको भनाइ छ । मध्यपुरथिमि शङ्खधर चोकका पानी व्यापारीले पानी लिन आउने उपभोक्ताले विहानैदेखि पानीको मूल्य वृद्धि गरेको भन्दै बिरोध र गुनासो गरेको जनाएका छन् ।