रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उहाँ घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइरहेको देखिनुहुन्छ ।
सुनसान अग्लो, लेकको जङ्गलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहनुभएका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पाल्नुभएको छ । आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उहाँलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गर्छ । “सधैँ एकै ठाउँमा भेडाबाख्रा राख्दा चरिचरनमा घाँस सकिने भएकाले अग्ला–अग्ला लेकहरु रानीवास, धरमपानीलगायत आसपासका लेकहरूमा चरनका लागि लैजान्छु”, पुनले भन्नुभयो ।
यसरी जङगल क्षेत्रमा बास सार्दा विभिन्न समयमा भेडा, बाख्रा र च्याङग्रा हराउने गरेको उहाँले दुःखेसो पोख्नुभयो । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्जलगायतका स्थानमा लैजाने गरिएको बताउनुभयो । एउटा भेडालाई रु चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई रु ४२ हजारसम्ममा विक्री गर्ने गरेको उहाँको भनाइ छ । यसरी वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताउनुभयो ।
अर्का काले रोका पनि त्यहीँ भेडी गोठालोमै व्यस्त हुनुहुन्छ । बिहान उठ्यो, भेडाबाख्राको स्याहार गर्यो, बर्सातको समय, चारैतिर कुहिरोले ढाकेको अग्लो पहाडी भूभाग, नजिक कतै घरगोठ छैन । सुनसान वातावरण, चराचुरुङ्गीको आवाज, सर्प र जुकाको त्रासमा दिनचर्या बिताउनु कम्तीको पीडा छैन तर यस्तै जीवन व्यतित गरिरहेका रोका हेर्दा खुशी देखिनुहुन्छ ।
वैदेशिक रोजगारमा गएर अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँको पाखा पखेरीमा यसरी भेडा पालन गर्दा आनन्द महसुस भइरहेको रोकाले बताउनुभयो । विदेशमा गएर अरुको भनाइ खानुभन्दा आफ्नै ठाउँमा स्वतन्त्ररूपमा पेशा गर्न पाएकोमा गर्व गर्नुहुन्छ, रोका । “दुःख केही लाग्दैन, बानी भइसक्यो, एक्लै आनन्दले पेशा गर्यो, मेहनतअनुसार दुई÷चार पैसा कमाइ भइहाल्छ”, रोकाले भन्नुभयो ।
रोका र पुन त प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरू जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । भेडा, बाख्रा र च्याङग्राको रौँबाट विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ । भेडाको ऊनबाट कम्बल, पटुका, कोटलगायत न्यानोका लागि विभिन्न वस्तुहरु तयार पार्न सकिने ८० वर्षीया मतिकला केसीले बताउनुभयो । “ऊनबाट तयार गरिएको कम्बल, पटुका निकै न्यानो हुन्छ, चिसोबाट शरीरलाई बचाउन यसले खुबै राम्रो काम गर्छ”, केसीले थप्नुभयो । पूजापाठ गर्दासमेत भेडाको ऊनबाट बनेको कम्बलमा बसेर पूजा गर्ने चलन रहेको केसीको भनाइ छ । भेडाको ऊनबाट निर्मित कम्बल बजारमा रु चार हजारसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
रोल्पाका करिब ४० हजार युवा भारतलगायत वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना कहरका कारण भारतबाट हालसम्म दुई हजार १८१ जना घर फर्किसकेका छन् । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेका १७८ जना जिल्लामा फर्किसकेका छन । प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण रोल्पामा पुन र रोका जस्तै व्यावसायिक रूपमा भेडाबाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । अधिकांश कृषि तथा पशुपालन गर्ने रोल्पालीलाई स्थानीय सरकारले समय सुहाउँदो प्रविधि, सीप र क्षमता अभिवृद्धि गरी पेशालाई आधुनिकीकरण गर्न सके स्वदेशमै स्वरोजगारको ढोका खुल्ने स्थानीय समाजसेवी कृष्णबहादुर घर्ती बताउनुहुन्छ ।
झट्ट हेर्दा आर्थिक आम्दानी धेरै हुने देखिए पनि मेहनत धेरै गर्नुपर्ने, जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले यस पेशालाई युवा पुस्ताले भने रुचाउने गरेका छैनन् । बाउबाजेले पेशालाई निरन्तरता दिए पनि अहिलेको बदलिँदो समयमा आएको नयाँ प्रविधिका कारण युवा पुस्ताले यो पेशालाई खासै अँगालेको देखिँदैन । तीनै तहका सरकारले यहाँको पशुपालनलाई आधुनिकीकरण गर्न जरुरी रहेको स्थानीय अगुवाहरुको भनाइ छ ।