गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले वसन्तपुरमा १८ दिनदेखि सत्याग्रह बसेका युवाको माग तत्काल पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणका लागि पारदर्शी एवं प्रभावकारी उपचारको माग राख्दै १८ दिनदेखि सत्याग्रह बसेका युवाको माग तत्काल पूरा गर्र्नुपर्नेमा जोड दिनुभएको हो ।
“कोभिड–१९ को प्रभावकारी उपचारको माग राखी अनशन बसेका युवाको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको छ, यी आन्दोलनकारीको मागप्रति प्रतिष्ठान ऐक्यबद्धता व्यक्त गर्दछ, सरकारले आन्दोलनकारीको माग तत्काल पूरा गर्नुपर्छ”, अध्यक्ष जोशीले भन्नुभयो ।
प्रतिष्ठानले पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन र उपचारको क्षमता र गुणस्तर अभिवृद्धि गर्नुपर्ने, जोखिममा रहेका समुदायलाई उपचार र सहयोगका साथै रोजगारीको सुनिश्चितता गर्नुपर्ने, भारतलगायत अन्य मुलुकबाट आएकाको अनिवार्य पिसीआर परीक्षण गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नुपर्ने बताएको छ ।
अध्यक्ष जोशीले अस्पतालको क्षमता वृद्धि गर्दै पिसीआर परीक्षण र सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको उच्च जोखिमस्थल पहिचान गरी आवश्यक सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो । सङ्कटको घडीमा आम नागरिकको सुरक्षा पूरा गर्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतिष्ठानले आम नागरिकलाई सामाजिक दूरी कायम राख्दै, मास्क लगाउने, साबुनपानीले हात धुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरेको छ ।