म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा आज नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको छ । गण्डकी प्रदेश सरकारले गत असार २६ गतेको पहिरोले घरबास गुमाएकालाई खाद्यान्न, पाइप र त्रिपाल पठाएको हो । धवलागिरी–६ राम्चे, आरबाङ, मालिका–बाइन्दफाँट र अन्नपूर्ण–४ नारच्याङमा राहत सामग्री पु-याइएको गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले जानकारी दिनुभयो । सडक र घोरेटोबाटो नभएकाले गाडी, खच्चर र भरियामार्फत सम्भव नभएपछि प्रदेश सरकारले सेनाको हेलिकप्टर मार्फत् राहत सामग्री ढुवानी गरेको उहाँले बताउनुभयो । राम्चेमा २५ केजी तौलको ७३ बोरा चामल, ४ प्याक खानेतेल, ५० केजी नुन, तीन क्वइल पाइप र तीन वटा शौचालय बनाउने सामग्री लगिएको छ ।
आरवाङमा ७२ बोरा चामल, पाँच प्याक खाने तेल, १०० केजी नुन, चार क्वायल पाइप र तीन वटा शौचालय बनाउने सामग्री पठाइएको छ । बाइन्दफाँटमा ८३ बोरा चामल, सात प्याक खाने तेल, १०० केजी नुन र २० थान त्रिपाल पठाइएको छ । साउन ५ र ६ गतेको बाढी र पहिराबाट पीडित अन्नपूर्ण–३ काभे, ४ कोप्चेपानीका बासिन्दालाई ६२ बोरा चामल, ४ प्याक तेल, ८० केजी नुन र ६५ प्याक चाउचाउ पठाइएको छ ।
सामान ढुवानी गर्न गएको हेलिकप्टरले बाटो नभएर अस्पताल आउन नसकेका बिरामी र गर्भवतीलाई उद्धार गरेर बेनी ल्याएको छ । साउन १० गते भिरबाट लडेर घाइते भएकी दानाकी ४५ वर्षीया डिलकुमारी बरुवाल र आरबाङकी गर्भवती अपेक्षा जुग्जालीलाई हेलिकप्टरमार्फत बेनी ल्याइएको हो । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुन र सांसद केसीको पहलमा प्रदेश सरकारले सामग्री खरिद र ढुवानीको व्यवस्था गर्नुभएको हो । पहिराका कारण म्याग्दीको धवलागिरी–६ मराङका १९, मालिका–७ बिमका ८, रघुगंगा–६ का ३ र अन्नपूर्ण–३ का १ जनाको पहिरा र बाढीले बगाएर मृत्यु भएको छ । मराङका २, बिम, मालिका–६ दुखु र अन्नपूर्ण–३ काभ्रेका एक÷एक जना बेपत्ता छन् ।
मराङमा २३ घर पहिराले बगाएको र २२६ घर जोखिममा छन् । बिममा पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । ५० घर उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् । अन्नपूर्ण गाउपालिकाका अनुसार काभ्रेका २२, तितरका ३, दुवारीमा २ परिवार विस्थापित भएका छन् । नारच्याङको कोप्चेपानीमा ३, गाडपारमा ५, घरापमा ४, वडा न. ६ को हल्लेखर्कमा १, धिरच्याङमा १, शिखमा ५, भुरुङ्ग तातोपानीमा १४ परिवार विस्थापित र दोवाका १० घर जोखिममा छन् ।
पहिराले सडक, झोलुङ्गे पुल, पैदलमार्ग बगाएकाले पहिरो प्रभावित बस्ती यातायात सम्पर्कबाट बिच्छेद भएका छन् । पैदलयात्रा गर्न पनि धेरै जोखिम छ । पहिरामा घरबास गुमाएकालाई विद्यालय, टहरा र सामुदायिक भवनमा राखिएको छ । आवत जावतलाई सहज, राहत सामग्री ढुवानी र पहिरो पिडितको व्यवस्थापनका लागि सडक तथा घोरेटो बाटो मर्मतको पहल गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । रासस