देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि बढाउने लक्ष्य र योजना बनाएको छ ।
विभिन्न दातृ निकायले समेत कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बेरोजगार युवालाई रोजगारी दिने नितान्त मौलिक कार्यक्रमका रुपमा सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको छ । यस्तै श्रमिकलाई दीर्घकालीन हित गर्ने लक्ष्यका साथ अगाडि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक लाख ६८ हजार ८७० योगदानकर्ता आबद्ध भएका छन् ।
मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा यस मन्त्रालय र अन्तर्गतका निकायले आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित वार्षिक कार्यक्रम तथा आयोजनाहरुको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा उक्त विवरण पेश भएको हो ।
सो कार्यक्रममा मन्त्रालय र मातहतका विभागीय प्रमुखलगायत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको प्रतिनिधिको समेत सहभागिता रहेको सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा मन्त्रालयका वार्षिक आयोजना र कार्यक्रमको समग्र भौतिक र वित्तीय प्रगति तथा भएका मुख्य क्रियाकलापको प्रस्तुति गरिएको थियो ।
आव ०७६÷७७ मा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनामा आठ र दोस्रो प्राथमिकता प्राप्त आयोजना तीन गरी कूल ११ परियोजना सञ्चालन गरिएको थियो । ती कार्यक्रममा कूल बजेट रु छ अर्ब ४० करोड ५२ लाख विनियोजन गरिएको थियो ।
मन्त्रालय अन्तर्गतको १४४ वटा माइलस्टोनमध्ये ८८ सम्पन्न तथा ४५ आंशिक सम्पन्न रही कूल सङ्ख्याको ७५ प्रतिशत कार्य प्रगति हासिल भएको छ । मन्त्रालयको बेरुजु फछ्र्याैट ५५.५० र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले टिप्पणी गर्दै रोजगारी तथा सीप विकासमा केन्द्रित रही दीर्घकालीन लक्ष्य र पन्ध्रौँ योजनाका सूचक अनुसारका रणनीति हासिल गर्न थप क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।
अर्थ मन्त्रालयका उपसचिव दिलीपकुमार गौतमले बजेट विनियोजनअनुरुप कार्यान्वयनमा समेत नतिजामुखी हुन जरुरी रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव तोयम रायाले प्रस्तुतिका लागि धन्यवाद ज्ञापन गर्दै विगतको अनुभवका आधारमा चालू आर्थिक वर्षमा थप प्रगति हासिलका लागि दृढतापूर्वक क्रियाशील हुन निर्देशन दिनुभयो ।
समीक्षा बैठकमा मन्त्री यादवले कोरोनाको विपद्का कारण सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्दै विभिन्न निकायले दिएको सुझावका आधारमा भौतिक पूर्वाधार, जनशक्ति, विधि र प्रविधिमा सुधार गरी आगामी दिनमा कार्य सम्पादन गरिने बताउनुभयो ।
उहाँले रोजगारी व्यवस्थापन, श्रम सम्बन्ध विकास तथा सामाजिक सुरक्षाका दायरा बढाउने गरी समन्वयात्मक रुपमा कार्यतालिकासहित परिणाममुखी कार्यान्वयनमा सक्रिय रहन मातहका निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।