खेमराज गौतम
भनिन्छ– ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष रोज्नुभयो । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आइसकेको छ । तर गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर जस्तोसुकै दुःखमा पनि विचलित हुनुभएन । न्याय र समानताको लडाइँ लड्ने भन्दै १४ वर्षकै उमेरमा दुदिलाभाटीको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कुँवर तत्कालीन माओवादीद्वारा शुरु सशस्त्र द्वन्द्वमा होमिनुभयो । सबैको समान आर्थिक हैसियत र सामाजिक न्याय हुने भनिएपछि कुँवरको मनमा पनि विद्रोहको भाव ल्याइदियो । यसकारण उहाँ नयाँ क्रान्तिका लागि जङ्गल छिर्नुभयो । तत्कालीन नेकपा माओवादीमा सक्रिय भएर जनुयद्व लडेका कुँवर जनमुक्ति सेनामा सक्रिय हुनुभयो ।
धेरै स्थानमा भएको आक्रमणका क्रममा उहाँ एक योद्धाको रुपमा मैदानमा उत्रिनुभएको छ । युद्वका सुखद, दुःखद र सङ्घर्षका अनेक पाटाहरु अहिले पनि उहाँको सम्झनामा छन् । त्यसताका एक योद्धा बनेर हतियार चलाएका कुँवरका हात अहिले आफ्नै गाउँघरको कृषि कर्ममा समर्पित छन् । प्रायः पुराना दुःखका कहानी कसैलाई सुनाउन नपरे हुन्थ्यो भन्ने लाग्छ उहाँलाई । त्यसैले उहाँ ती विगतका कहानी विर्सने प्रयासमा हुनुहुन्छ । “हामीलाई सानै उमेरमा न्याय र समानताको सिद्धान्त रटाइयो, बुर्जुवा शिक्षाको अन्त्य गरी व्यावहारिक शिक्षा ल्याउनुपर्छ भनियो” कुँवरले पुराना दिनहरु सम्झँदै भन्नुभयो “समानताका लागि जनयुद्धमा होमिएको म पछि आफैँ अपहेलित भएर निस्कनु प¥यो, त्यसैले पनि ती पुराना दिन सम्झिन म चाहन्नँ ।”
विसं २०६२÷०६३ को जनआन्दोलन पश्चात माओवादी शान्ति प्रक्रियामा आइसकेपछि क्यान्टोनमेन्टमै एसएलसी पास गरेका कुँवरको उच्च शिक्षा पढ्ने सपनासमेत अुधरै रह्यो । सेना समायोजनको समयमा जनमुक्ति सेनामा रहेका कुँवरलाई उमेर नपुगेको भन्दै ‘अयोग्य लडाकु’ घोषणा गरियो । जातीय, वर्गीय, लैंगिक, आर्थिकलगायत सबै किसिमको समानता रहने राज्यको परिकल्पना थियो कुवँरको मनमा । तर ज्यानको बाजी लगाएर होमिनुभएको उहाँको सपना सात वर्षमै तुहियो । समय क्रमले झनभन्दा झन पछि परेको महसुस उहाँलाई भयो ।
सानै उमेरमा कैयौँ सपना बाँडेर जनयुद्धमा सामेल गराएको माओवादीले अयोग्यको बिल्ला भिराउदै रु १० हजार दिएर बिदाइ ग¥यो” जीवनकै नमिठो अनुभव भएको कुँवरले सुनाउनुभयोे “हिम्मत हारिन, शिर ठाडो बनाएर गाउँ फर्किएँ, तर लगानीको समस्या भो । अनि कृषिमा लगानीको जोहो गर्न परदेश भासिएँ ।” दिइएको रु १० हजारसमेत नलिने भन्दै उहाँले तत्कालै फिर्ता गरेर गाउँ फर्केको बताउनुभयो । उहाँलाई अब समाजमै घुलमिल हुन आफ्नो मनले नै प्रेरित ग¥यो र गाउँ फर्कनुभयो ।
द्वन्द्वमा होमिदा यसरी परदेश भासिनुपर्ला भन्ने कल्पना सम्म नगरेको कुँवर बताउनुहुन्छ । तर परदेशिनुको विकल्प नभएपछि अनुभव उहाँले सुनाउनुभयो । अयोग्यको बिल्ला मेट्नै भए पनि विदेशिएको उहाँको तर्क छ ।
उहाँ छ वर्ष मलेसिया बसेर स्वदेश फर्कनुभयो र अहिले पुनः गाउँ फर्किएर व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुभएको छ । तीस वर्षको उमेरमा अनेकौ दुःख कष्ट भोग्नुभएका कुँवरले दुदिलाभाटीको भाटी बजारमा डेढ वर्ष अघि पाँच रोपनी जग्गा खरिद गरी एकिकृत अमृता सनसाइन कृषि फर्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँको फर्ममा दुई हजार सिल्भर, कमन र ग्रास जातका माछा र तीन हजार रेन्बो ट्राउट माछा, कुखुरा पालन शुरु गर्नुभएको छ । उहाँले फर्ममा १० बङ्गुर र मिश्रित कृषि खेती गर्दै आउनुभएको छ । उहाँको फर्ममा एक ग्रिन हाउस र दुई टनेल रहेका छन् । टनेलमा गोलभेडा, ब्रोकाउली, बन्दा लगायतका बेमौसमी र मौसमी तरकारी लटरम्म छन् । अयोग्यको बिल्ला मेटाउनका लागि र लगानीको जोहो गर्न विदेशिएका कुँवरलाई मलेसियामा कृषि कर्मले झनै कृषिको अनुभव सिकायो ।
“मलेसियामा छ वर्ष कृषि कर्ममै बिताएँ र धेरै कुरा सिक्ने मौका पनि पाएँ”, उहाँले भन्नुभयो “विदेशमा सँगालेको अनुभव र सीपलाई स्वदेशमै प्रयोग गर्ने अठोटका साथ कृषि कर्ममा लागेको हुँ ।” फर्मका लागि जग्गा खरिद तथा पूर्वाधार निर्माणका लागि झण्डै ६० लाख लगानी गरिसक्नुभएका युवा व्यवसायी कुँवरले फर्म नजिकै रिसोर्ट खोल्ने योजना रहेको बताउनुभयो ।
उहाँले उत्पादन गर्नुभएको बङ्गुर तथा तरकारी गलकोट नगरपालिकाको सदरमुकाम हटिया बजारमा खपत हुने गरेको छ भने माछा उत्पादनको परीक्षणमै छन् । उत्पादन गर्न सके बजारको समस्या नभएको भन्दै कुँवरले आफूले उत्पादन गर्दै आएको तरकारी र मासु होलसेलमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।
मलेसियाकै प्रविधिमा आफूले एकीकृत खेती गर्दा पूर्वाधार निर्माणमा खर्च धेरै लाग्ने गरेको उहाँको अनुभव छ । एकीकृत खेती प्रणलीमा शुरुमा बढी लगानी लागे पनि दीर्घकालीन रुपमा आफूलाई फाइदा र सहज भएको उहाँको अनुभव छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउने योजनाअनुसार दीर्घकालीन सोच राखेर लगानी गरेको र लगानी क्रमशः बढाउँदै जाने उहाँको योजना छ । “मिश्रित खेती प्रणाली मेरो प्रमुख उद्देश्य हो, एउटै फर्ममा सबै प्रकारका मासुजन्य तथा तरकारी उत्पादन गर्ने हो” उहाँले पुराना दिन स्मरण गर्दै भन्नुभयो, “अयोग्य लडाकु भएर गाउँमा आउँदा समाजमा अपहेलित भएर विदेशिएको मलाई अहिले सबैले उत्साह, प्रशंसा र सल्लाह सुझाव दिँदै आउनुभएको छ ।”
अयोग्य भएर आउँदा समाजमा घुलमिल हुन निकै समस्या भएका कुँवरले व्यावसायिक कृषि पेशा अँगालेपछि सहज भएको उहाँको अनुभव छ । उहाँले ३० वर्षको उमेरमा धेरै हण्डर खाए पनि अब जीवन सहज हुने उहाँको अपेक्षा छ ।
विदेशमा कमाएको रु ४० लाखले कृषि व्यवसाय शुरु गरेको भन्दै उहाँले केही ऋण गरेर लगानी गर्दै आए पनि उत्पादन गरेको तरकारी र मासुले बजार पाउँदा खुशी भएको बताउनुभयो । “माछापालन परीक्षणमै छ, एकै पटक पाँच हजार माछा उत्पादन गर्दा राम्रै आम्दानी हुन्छ भन्ने आशामा छु”, कुँवरले भन्नुभयो, “परिवारको राम्रै साथ र सहयोग छ, अवश्य पनि सफल हुनेछु ।” कुँवरले हालसम्म तरकारी र बङ्गुरपालनबाट रु पाँच लाखभन्दा बढी आम्दानीसमेत गरिसक्नुभएको छ । कुँवरलाई व्यवसायमा श्रीमती अमृता कुँवरले सघाउनुहुन्छ ।
गाउँमै कृषि व्यवसाय गर्दै आउनुभएका श्रीमानलाई कृषि कर्ममा अभिप्रेरित र सक्दो काममा सघाउदै आएको श्रीमती अमृताले बताउनुभयो । “उहाँले विदेशमा पनि कृषि कर्ममा नै सात वर्ष विताउनुभयो” श्रीमती अमृताले भन्नुभयो, ‘‘जीवन चलाउनलाई आफ्नै पेशा गर्न उत्तम भन्ने लागेर परिवारकै सल्लाहमा व्यावसायिक कृषि पेशा अँगालेका हौँ ।” सानै उमेरमा घर छोडेको छोरा गाउँमै कृषि कर्ममा रमाउँदा सबैले उहाँलाई उदाहरणीय पात्रको रुपमा लिने गरेको श्रीमती अमृताको भनाई छ । उहाँले सँगै परिवारको साथमा रहेर कृषि कर्म गर्दा आम्दानीका साथै पारिवारिक रुपमा सन्तुष्टि हुने गरेको बताउनुभयो ।
न्याय, समानता र समृद्धिका लागि जनयुद्धमा होमिएर पनि २०६५ सालमा रित्तो हात घर फर्कनुभएका कुँवर पुनः सात वर्ष मलेसिया बसाई पछि घर फर्किनुभयो । कृषि र मासुमा गलकोट नगरपालिका र बागलुङ जिल्ला नै आत्मनिर्भर हुने गरी ठूलो परिमाणमा आधुनिक खेती प्रणाली विस्तार गर्ने सपना र सोच रहेको उहाँले बताउनुभयो । कृषिमा आत्मनिर्भरता खोज्न लागिपरेका युवाहरुलाई आफूले प्रेरित गर्ने खालको वातावरण मिलाएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका अध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले कुँवरजस्तै आफ्नो वडामा भएको आधा दर्जन व्यावसायिक कृषकलाई सक्दो सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
“उहाँको व्यवसाय शुरुआती चरणमै छ, भर्खरै प्रतिफल दिन थालेको छ”, बुढाथोकीले भन्नुभयो “शुरुमा गाउँ छोडेर पलायन भएका युवाहरु, गाउँमै फर्केर कृषि कर्ममा लाग्नु उदारणीय हो, अनुदान तथा प्राविधिक रुपमा सहयोग गरिरहेका छौँ ।” बुढाथोकीका अनुसार सूर्य कुँवरको फर्मलाई गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतबाट रु तीन लाख ३० हजार, गलकोट नगरपालिकाको तर्फवाट रु दुई लाख ५० हजार र वडा कार्यालयले समेत सक्दो सहयोग गर्दै आएको छ । ऊर्जाशील युवाले गर्दा नै गलकोट नगरपालिकाले पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्य राखेको र यसका लागि सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।