कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने गोकुल खड्कासहित ना४ख ९९७२ नंको बस नियन्त्रणमा लिएको जनाएको छ । सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
फरार अभियुक्तलाई पक्राउ
प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले चौधरीलाई छ वर्ष कैदको सजाय तोकेको थियो । उनलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।
बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उपरीक्षक अुनपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताउनुभयो । बुधबार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।