काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। याे सँगै मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०–१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीका ३–३ जना, सल्षनका २ तथा सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा पनि संक्रमण देखिएको छ ।
सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ । अब चार हजार नौ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।
नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ ।
थप तीन जनाकाे मृत्यु
पछिल्लाे २३ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र बाराका दुई जनाको मृत्यु भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।