सन्तोष गौतम
धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे ७ बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताउनुभयो ।
‘‘खाना खान बसेको बेला आंँगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठुली छोरी र छोरालाई समातें, श्रीमान्ले सानो छोरी समाएर भाग्यांै,’’ उहाँले भन्नुभयो ‘‘दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायाँै । पहिरो रोकिएपछि युवा क्लबले यहाँ ल्याएर राख्यो ।’’
सबिनाका परिवारमा सात जना छन् । उहाँका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताउनुभयो । ‘‘पानी प¥यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उहाँले भन्नुभयोे ‘‘पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो । करेसाको तरकारी पहिरोले पुरेको छ । आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोएको रो¥यै गर्न थालेको छ ।’’
दुई महिनाअघि सुत्केरी भएकी हरिमाया विक र तीन महिनाअघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बस्नुभएको छ । पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरु बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन् ।
‘‘पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन । त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भन्नुभयो ‘‘पानी र चिसोले आमा छोरोनै पखला लागेर बिरामी भएका छौं ।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताउनुभयो ।
पहिरोको डरले राती सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन् । पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन् । ‘‘खाद्यान्न, कपडा, त्रिपाल, म्याटे«स, सुरक्षित खानेपानी र सरसफाई सामग्रीको अभाव हुँदा महामारी फैलिने डर छ’’, उहाँले भन्नुभयो ‘‘सडकमा त्रिपाल टाँगेर बनाएको टहरामा नल ओछ्याएर सुतेका छौं । भुईको चिसोले निद्रा नै पर्दैन् ।’’
पहिरोले उठिबास लगाएपछि मराङका बासिन्दाको जनजिवन कष्टकर बनेको छ । १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको व्यवस्थापन हुन सकेको छैन । रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा राखिएको छ । कल्लेनीका करिब २५ घरपरिवारलाई छिमेकी ७ नम्बर वडामा पर्ने शिवाङको हेम माविमा राखिएको छ । गाउँमा कोही नभएको समयमा घरमा राखिएका नगद, कपडा र खाद्यान्न चोरी हुन थालेको कल्लेनीका रत्नप्रसाद पुनले बताउनुभयो ।
ठूलोगाउँ र खक्सीमा पहिरोको जोखिममा रहेका घरका बासिन्दा आफन्तकहाँ सुत्ने गरेको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । ‘बुलबाहेक वडाका सबै बस्ति पहिरोले प्रभावित भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘बर्खा अझै बाँकी छ । कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।’’ मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाका अनुसार १७ घर भत्किएको र १५ घरमा आंशिक क्षति तथा ७८ घर उच्च जोखिममा छन् ।
समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउन अलमल र ढिलाई भएको छ । परिवारका चार जना सदस्य गुमाएकी चनमति लामगाडेले गाउँपालिकाले दिएको रु दश हजार किरियाखर्च बाहेक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको राहत नपाएको गुनसो गर्नुभयो । भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो सङ्ख्याका पीडितका लागि पर्याप्त नभएको कार्यपालिकाका सदस्य तिलकुमारी केसीले बताउनुभयो ।
‘‘जताततै पहिरै पहिरो गएर थुनिएका छौं, अभावै अभाव छ, समस्या नै समस्या छ’’, उहाँले भन्नुभयो, ‘‘पहिरो पीडितको सुरक्षित व्यवस्थापन गर्न नसकेर हामीलाई पीडा भएको छ ।’’ सडक अवरुद्ध र भौगोलिक विकटताको बहानामा स्थानीय प्रशासन, प्रदेश र सङ्घीय जनप्रतिनिधि तथा सुरक्षा निकायले उदासीनता देखाएको पहिरो पीडितको गुनासो छ ।
दाताले दिएको राहत सामग्री पनि सदरमुकाम बेनीमै थुप्रिएको छ । पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत्, सञ्चार र खानेपानी सञ्चालन गराउन र राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार तथा स्थानीय प्रहरी प्रशासनबाट सहयोगको अपेक्षा राखिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो ।