नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पुष्पलालले पार्टी स्थापना गर्दा देखेको सपना पूरा हुन थालेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित फलफूल वितरण तथा वृक्षरोपण कार्यक्रममा नेपालीले पुष्पलालले देखेको नेपाल कम्युनिष्ट पार्टीको विचार अहिले आएर साकार भएको बताउनुभयो ।
“नेकपाकै नेतृत्वमा बलियो सरकार छ, छ प्रदेशको नेतृत्व नेकपाले गरेको छ”, नेपालीले भन्नुभयो, “पुष्पलालले स्थापना गरेको नेकपाको जगमा नेकपा मजबुत भएको छ ।” गण्डकी प्रदेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहनुभएका नेपालीले जनताको चाहना र नेकपाको एकता सफल बनाउनु अहिलेको आवश्यकता भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई पुष्पलालको विचारमा अडिक रहन आग्रह गर्नुभयो ।
नेपालीले नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदान सदा स्मरणीय रहेको भन्दै श्रेष्ठको ४१ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुई तिहाइ मतसहित शासनको नेतृत्व गरिरहनु भनेको पुष्पलालको सपना साकार हुनुभएको नेपालीको भनाइ रहेको थियो ।
स्मृति दिवसका अवसरमा धौलागिरि अस्पताल, धौलागिरि बहुमुखी क्याम्पस तथा धौलागिरि बहिरा आवासीय विद्यालयको आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई फलफूल वितरण गरिएको थियो । यस्तै धौलागिरि अस्पतालको बगँैचामा वृक्षरोपणसमेत गरिएको नेकपा जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठले २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । स्मृति दिवसमा सांसद मनकुमारी केसी, प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
राजमार्गमा वृक्षरोपण
भक्तपुर–अरनिको राजमार्ग खण्डको किनारामा आज वृक्षरोपण गरिएको छ । आज ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघरमा राजमार्गको दक्षिणतर्फ तीन किलोमिटर. क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं का भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाले सडक किनारामा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर कम्युनिष्टको क्रान्ति अगाडि बढेको बताउनुभयो । उहाँले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदानलाई कहिल्यै भुल्न नहुने चर्चा गर्दै देश जटिल अवस्थामा मोडिएको वर्तमान समयमा कम्युनिष्ट एकतालाई दृढरुपमा कायम राख्नुपर्ने औँल्याउनुभयो । जनताको विश्वासलाई मर्न दिन नहुने बताउँदै उहाँले जनचाहनाअनुसार नै कम्युनिष्ट एकतालाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
अरनिको राजमार्गलाई हरियाली बनाउने उद्देश्यले गठ्ठाघरदेखि कौशल्टारसम्मको सडक किनारामा विभिन्न जातको ३०० बिरुवा रोपिएको हनुमन्ते सफाई अभियानका अभियानर्की अमित उपाध्यायले जानकारी दिनुभयो ।
यसअघि पनि हनुमन्ते सफाइ, अरनिको राजमार्ग सफाइ, सडक किनारा र सडकको बीचमा दूबो तथा बिरुवा रोपेर हरियाली बनाउने अभियान सञ्चालन भएको अर्का अभियानकर्मी नरेश रञ्जितले जानकारी दिनुभयो ।
सर्लाही– ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युष्टि पार्टी (नेकपा)ले आज वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । हरिपुर नगरपालिका–१, जानकारी नगर र लालबन्दी नगरपालिका वडा नं १४ र १५ को बोहोरे डाँडामा वृक्षरोपण कार्यक्रम गरिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो ।
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा भएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसमा नेकपाका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले प्रमुख आतिथ्यता जनाउनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य डाचाराज वाग्ले, नेता अच्युतम काफ्ले, लक्षमण पौडेल, हरि उप्रेती, डिल्लीप्रसाद उप्रेती, नेता विदुर प्याकुरेल, चूडामणि वाग्लेलगायतको उपस्थिति रहेको अनेरास्ववियुका नेता सरोजबाबु न्यौपानेले जानकारी दिनुभयो ।
४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा सहभागी नेकपाका नेता तथा कार्यकर्ताले एकताको भावना जागृत गराई विवादरहित नेकपा बनाउन आग्रह गरेका छन् । दक्षिण एशियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको अवसरमा पुष्पलाललाई सम्झिँदै त्यो अवसरलाई सदुपयोग गरी अगाडि बढ्न र टुटफुट तथा विभाजन नगरी एकताबद्ध भएर पार्टी चलाउन नेता तथा कार्यकर्ताले आग्रह गरेका छन् ।
आँप, अशोक, गोलमहर, मलेसियन सखुवा र कल्पीलगायतका ४२ वटा बिरुवा रोपेको नेकपाले जनाएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपाका नेता तथा कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो ।