रामबहादुर थापा
यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ ।
कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो । “परम्परा त जेनतेन धान्नै प¥यो”, उहाँले भन्नुभयो, “भीडभाड नगरी पर्व मनायौँ ।”
कोरोनाकै कारण बागलुङ नगरपालिका–३ बुद्धचोकमा मात्र घण्टाकर्ण निकालिएको सचिव शाक्यको भनाइ छ । पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसै त परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ ।
घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर बुद्धचोकमा उभ्याइएको थियो । मकैको डाँठ, पराल आदि प्रयोग गरेर राक्षसको आकृति झल्कने तीनखुट्टे बुख्याँचा बनाउने गरिएको संस्कृतिकर्मी मुकुन्द शाक्यले बताउनुभयो । “नेवार समुदायका घरघरबाट कपडाका पुतली बनाएर घण्टाकर्णलाई लगाइदिने गरिन्छ”, उहाँले भन्नुभयो, “ग्रहदशा कटोस्, लुतो हराओस् भनेर चामल, नुन, मास, बेसार, सिक्का पैसा पनि चढाउने चलन छ ।”
दिनभर बुद्धचोकमा राखेपछि साँझपख नेवारी बाजागाजासहित बजार घुमाउँदै हनुमान पौवानजिक लगेर घण्टाकर्णलाई जलाइएको थियो । साउने झरीको समेत पर्वाह नगरी मगर समुदायका अगुवालगायत घण्टाकर्ण पर्वमा सहभागी भएका थिए । नरभक्षी राक्षस घण्टाकर्ण मारिएको दिनको सम्झनामा परापूर्व कालदेखि नै उक्त पर्वको थिति बसेको हो । बर्सेनि साउन कृष्ण चर्तुदशीका दिन घण्टाकर्ण पर्व मनाइन्छ । नेवारी संस्कृतिमा घण्टाकर्ण पर्वपछि लाखे नाच शुरु हुन्छ ।
लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्णलाई मारेपछि पति वियोगमा विह्वल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ । “लाखे नाचको पनि तयारी भइरहेको छ”, सचिव शाक्यले भन्नुभयो । जनैपूर्णिमापछि देखाइने अरु जात्रा, वर्षे नाच देखाउने कि नदेखाउने भन्नेमा छलफल चलिरहेको समाजले जनाएको छ । कतिपयले कोरोनाका कारण स्थगित गर्न त केहीले सावधानी अपनाएर भए पनि परम्परा रोक्न नहुने सुझाव समाजलाई दिएका छन् ।
भौतिक दूरी पालनासहित धेरै भीडभाड नगरी नाच देखाउनुपर्नेमा कलाकारहरुको जोड छ । नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले लाखेलगायत थोरै कलाकारले पुग्ने नाच देखाउन सकिने बताउनुभयो । “गाइजात्राका दिन मृतकका घरबाट निकालिने तःहामचा गर्नैपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अरु जात्रा र नाचका बारेमा छलफल गरेर निर्णयमा पुग्छौँ ।”
रोपाइँ, जोगी नाचलगायतमा भने धेरै कलाकार चाहिन्छ । धेरै कलाकार चाहिने र भीडभाड हुने नाच भने स्थगन गर्नुपर्ने उहाँको भनाइ छ । खल र समाज मिलेर बागलुङमा वर्षे नाचको संरक्षण गर्दै आएका छन् । लाखे, होबा, कटुवाल, रोपाइँ, घोडा, जोगीलगायत यहाँका प्रचलित नाच हुन् । झण्डै ३०० वर्षअघि भक्तपुर, बनेपालगायतका ठाउँबाट बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएका हुन् । पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।
लाखेनाचको कला र शिल्प नयाँ पुस्तामा पुग्न नसक्दा नाचै सङ्कटमा पर्ने चिन्ता बढेको संस्कृतिकर्मी शाक्यको भनाइ छ । “पुरानो कला, संस्कृति जोगाउनै हम्मेहम्मे परेको छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्तामा रुचि घट्दो छ, सम्बन्धित पक्ष पनि उदासीन छन् ।”