अर्थमन्त्री डा युवराज खतिवडाले विश्वभर फैलिएको कोभिड–१९ले पर्यटन र यातायात क्षेत्रमा बढी असर गरेको बताउनुभएको छ ।
दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव र त्यसलाई कम गर्ने उपायका विषयमा आज यहाँ आयोजित एक कार्यक्रमलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल सरकारले गरेका प्रयास तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे जानकारी गराउनुभयो ।
विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रका उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व बैंकका पदाधिकारी बीच आज उक्त विषयमा छलफल भएको हो ।
छलफलमा मन्त्री डा खतिवडाले नेपालको सन्दर्भमा शुरुआती चरणमा पदयात्रा र पर्वतारोहण जस्ता कम भीडभाड, न्यून जोखिममुक्त र तुलनात्मक रुपमा सुरक्षित स्थानबाट पर्यटन प्रवद्र्धन गर्न उपयुक्त हुने धारणा राख्नुभएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिनुभयो ।
कोभिड–१९ को असरबाट पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न पर्यटक आगमनका स्रोत मुलुकहरुमा विविधिकरण गरी व्यवस्थित र सुरक्षित बनाउने, पर्यटक आगमन सङ्ख्या र गुणस्तर बढाउँदै मूल्य अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने र नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकास तथा पर्यटन उपजमा विविधिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय यातायातलाई कम खर्चिलो, सहज, सुरक्षित, गुणस्तरीय र विश्वसनीय बनाउँदै क्षेत्रीय सहयोग र सहकार्यको रुपमा पर्यटन व्यवसायलाई एक अर्काको परिपूरकको रुपमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री डा खतिवडाले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने उल्लेख गर्दै पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन पूर्वाधार र सेवा सुविधामा विविधिकरण गरी कोभिड–१९ का कारण लगानी र पूँजी क्षय हुन नदिई बेमौसमी पर्यटन प्रवद्र्धन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
उक्त छलफलमा विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, भुटानका श्रम मन्त्री उग्गेन दोर्जी, बङ्गलादेशका विदेश राज्य मन्त्री मोहम्मद आलम, विश्व आर्थिक मञ्चका क्रिस्टोफ उल्फलगायत अर्थशास्त्री एवं निजी क्षेत्रको सहभागिता थियो ।