बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा मृत भेटिएका म्याग्दीका २७ जनाकै सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर तथा प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी किरण रानाले दिएको जानकारी अनुसार पहिरोमा बेपत्ता रहेका ३३ जनामध्ये २७ जनाको शव भेटिएको हो भने बाँकी रहेका खोजी कार्य जारी रहेको छ।
मृत भेटिनेहरूमा मालिका गाउँपालिका ७ विमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका नाम नखुलेका छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन्। यस्तै धौलागिरि गाउँपालिका ६ मराङको पहिरोमा परी मृत भेटिएकाहरूमा सुकना लामगाँदे, आशिष लामगाँदे, आयुष लामगाँदे,आयुषा लामगाँदे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसी रहेका छन्। उनीहरू सबैलाई उद्धारका क्रममा शनिबार फेला पारिएको हो।
यस अगाडि शुक्रबार रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय ललितमान पुराने छन्त्याललाई खोलाले बगाएको अवस्थामा मृत फेला पारिएको थियो भने तुलबहादुर क्षत्री पनि मृत अवस्थामा फेला परेका थिए।
‘३३ जना बेपत्ता भएकोमा शुक्रबार र शनिबार गरेर २० जना मृत भेटिनुभएको छ। बाँकी रहेका १३ जनाको खोजी कार्यलाई पनि तीव्र पारिएको छ।’ म्याग्दीका डिएसपी कुँवरले भने, ‘उद्धारका लागि गएका हेलिकोप्टरहरू फर्किएका छन्। तर हेलिकोप्टर र स्थल मार्गबाट पहिरो गएको स्थलमा पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टिमले खोजी कार्य जारी राखेको छ।’ शुक्रबार बिहानै बाट पहिरो गएको क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली हिँडेको थियो।
तर पुल र सडक नै पहिरोले बगाएपछि स्थल मार्गबाट हिँडेको टोली समेत ठाउँ ठाउँमा फसेको थियो। शनिबारको मौसम सफा भएपछि भने प्रभु एयर र नेपाली सेनाको १÷१ ओटा हेलिकोप्टर पहिरो गएको ठाउँमा ल्यान्ड गर्न सकेका थिए भने स्थल मार्गबाट हिँडेको सुरक्षाकर्मीको टोली पनि त्यहाँ पुग्न पाएको थियो।