अविरल वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो ।
वर्षायाम शुरु भएसँंगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ । सडक भासिएसंँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुनाका साथै आवतजावत ठप्प भएको छ । आज बिहान आएको भारी वर्षाका कारण द्वारीमा करीब चार मिटर सडक तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।
सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामबाट स्काइभेटरसहित इञ्जिनीयरहरुको टोली आए पनि वर्षा नरोकिएका कारण सडक पुनः सञ्चालन नसकेको र बुधबार साँझसम्म मात्रै हुन सक्ने प्रजिअ गैरेले बताउनुभयो ।
अहिले साँफे –मार्तडी सडकमा साना तथा ठूला कुनै सवारी साधन चल्न सकेका छैनन् । मालवाहक ट्रक, ट्रयाक्टरलगायत साधन सडकमै अलपत्र छन् । पैदल यात्राबाट नै मानिसले सामान ओसारपसार गर्नुपर्ने बाध्यता रहेको र त्यसको प्रत्यक्ष मारमा ग्राहक नै पर्ने उद्योग वाणिज्य संघ बाजुराको भनाइ छ । हरेक वर्ष वर्षायाममा साँफे –मार्तडी सडक अवरुद्ध हुँदै आएको छ ।
तलबाट नियमित सडक भासिन थालेपछि अम्कोटबासीमा समेत चिन्ता थपिएको तथा रातभर जाग्राम बसेर रात कटाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मनराज पाध्यायले गुनासो गर्नुभयो ।
भत्किए दुई घर
निरन्तर परिरहेको वर्षाका कारण खप्तड छेडेदह गाउँपालिकामा दुई घर भत्किएका छन् । खप्तड छेडेदह –५ डोगडीका लालबहादुर रावतको घर भत्किँदा लाखाँैंको क्षति भएको स्थानीयवासीले बताएका छन् ।
कुनै मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र लत्ताकपडा सबै पुरिएर नष्ट भएको वडाध्यक्ष हर्क रावतले बताउनुभयो । वर्षाका कारण डोगडी गाउँको बिडेपाटाको रावतबाड टोलमा एक घर भत्किनाका साथै २५ घर पहिराको उच्च जोखिममा रहेको अध्यक्ष रावतको भनाइ छ ।
त्यस्तै वर्षाका कारण वडा नं ६ को सुदाडाका प्रभते नेपालीको घर भत्किएको बताइएको छ । पहिरो जोखिममा रहेका घरपरिवारलाई सतर्क रहन गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समितिले आह्वान गरी गाउँपालिकाले पत्र समेत पठाइसकेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।