इलाम नगरपालिका–६ स्थित बालन गाउँका वुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उहाँले विदेशको विकल्प पनि देख्नुभएन ।
आर्थिक अभावमा विदेश हानिएका उहाँले १० वर्ष कमाएको केही रकमले छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको त पूराभयो तर विदेशबाट कमाएर ल्याएको थोरै रकम सकिएपछि फेरि पहिलेकै स्थितिमा पुगिने हो कि भन्ने त्रासले भने छोडेन । त्यसैले स्वदेशमै केही गरौँ भन्ने सोच आयो ।
स्वदेश फर्किएर उहाँले व्यावसायिक पशुपालन र आधुनिक कृषि गर्ने उद्देश्यले आफ्नै बारी खनजोत गर्न थाल्नुभयो । त्यही भूमिमा एभोगाडो, कफी, कागती र सुन्तला लगाउनुभयो । विदेशमा गरेजति दुःख घरमै गर्ने भन्दै उहाँले लोकल कुखुरा, बटाइ र टर्की चराको व्यावसायिक पालन पनि थाल्नुभयो ।
अहिलेसम्म वुद्धिमानको लगानी उठेको त छैन तर ‘पैसा डुब्दैन’ भन्नेमा भने उहाँ ढुक्क हुनुहुन्छ । करीव डेढ वर्षअघि शुरु गरेको यो व्यवसायमा उहाँको करिब रु १४ लाख लगानी भइसकेको छ । भौतिक संरचनादेखि विरुवा र चौपाया किन्दा ठूलो रकम खर्च भएको उहाँ बताउनुहुन्छ । वुद्धिमान भन्नुहुन्छ ‘‘तर राम्रो कमाइ भयो भने एक वर्षमै यो लगानी उठाउन सक्छु भन्ने लागेको छ, आम्दानी पनि राम्रै हुन शुरु भएको छ ।’’ विभिन्न संघसंस्थाबाट ऋण लिएर थालेको यो व्यवसायका लागि उहाँले आफ्नो बाहेक २५ रोपनी जमिन ठेक्कामा लिनुभएको छ ।
उहाँमात्र नभएर अहिले यो काममा परिवारका पाँचै जना सदस्य खट्ने गरेको देखिन्छ । ‘‘यो व्यवसाय चक्रिय खालको छ, पशुपालनबाट मल निस्कन्छ त्यो मल बोटविरुवामा हाल्छु र बोटविरुवाको घाँस गाइवस्तुलाई हुन्छ ।’’ दैनिक १२ घण्टा खट्ने गरेका वुद्धिमान आफूले नयाँ किसिमको व्यवसाय शुरु गरेको बताउनुहुन्छ । जिल्लामै नौलो रूपमा लिइएको बटाइ र टर्की चराबाट पनि राम्रै आम्दानी लिने सोचमा उहाँ हुनुहुन्छ ।
अबको उहाँको चाहना बाख्रापालनमा छ । राम्रै जातको बाख्रा पाल्ने तयारीमा उहाँ हुनुहुन्छ । विदेश गएकोमा असन्तुष्टि भने उहाँलाई छैन । परिवारबाट समेत राम्रो साथ पाइरहेका वुद्धिमानले विदेशमा सिकेको कृषि कामको सीप अहिले आफ्नो व्यवसायका लागि काम लागेको उहाँको अनुभव छ ।
माइ नगरपालिका वडा नंं. १० का धनपति दुलाल पनि सशस्त्र द्वन्द्वको समयमा रोजगारीका लागि विदेशिनु प¥यो । माओबादीले घरघरबाट मान्छे लिएर जान थालेपछि धनपति बच्नकै लागि पनि मलेसिया हानिएको बताउनुहुन्छ । सात वर्ष विदेशमा विताएका उहाँको मनमा स्वदेशमै केही इलम गर्नुपर्छ भन्ने सोच आएपछि विदेशमा सँगै बसेका सात जना नै नेपाल फर्किएर सामूहिक बाख्रापालन गर्ने सल्लाह भयो । अहिले धनपति र उहाँका प्रवासी साथीहरू मिलेर कृषि तथा पशुपालन फार्म खोल्नुभएको छ ।
हाँहरुको फार्मको लगानी उठेको त छैन तर निराशा पनि छैन । करिब रु २३ लाख लगानी गरेर उहाँहरूले फार्म खोलेर बाख्रापालन थाल्नुभएको हो । ‘‘विदेश जाँदा पनि नराम्रो भएन, घरजग्गा जोडियो, केही कमाई त भयो तर घरपरिवारबाट टाढा बस्दा भनेजस्तो भने नहुदो रहेछ, आफ्नै देशमा इलम गरेजस्तो आनन्द नआउने रहेछ । ।’’ स्थानीय तह र स्थानीय सङ्घसंस्थाबाट पनि सरसल्लाह पाइएको र निराश हुनुपर्ने स्थिति नआएको उहाँहरुको भनाई छ ।
सन्दकपुर गाउँपालिकास्थित जमुनाका युवा केवल राईले पनि लामो समय विदेशमा विताउनुभयो । लामो समय प्रवासमा विताएर राम्रै पैसा कमाएका उहाँ घर फर्किएर डेरी चलाउन थाल्नुभएको छ । अहिले केवलसहित गाउँका दुई जना साथी मिलेर गाउँभरिको दूध सङ्कलन गरी घरमै दूध पेलेर घ्यु र छुर्पी बनाउने गर्नुभएको छ ।
आफ्नो घरमै डेरी सञ्चालन गरेका केवलले एक दिनमा दुई सय ५० लिटर दूध पेलेर त्यसबाट छुर्पी र घ्यु उत्पादन गर्ने गर्नुभएको छ । केवलको डेरीमात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाई समेत छन् । गाउँमै गाई फार्म र डेरी चलाइरहेका केवल अहिले यसैमा सन्तुष्ट हुनुहुन्छ । राम्रै कमाई भएको बताउने उहाँ व्यवसाय बृद्धि गर्दै लैजाने सोचमा हुनुहुन्छ ।
लामो समय विदेश बसेर गाउँ फर्कनुभएका केवल फेरि विदेशिने मनसायमा भने हुनुहुन्न । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच भएका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिनुहुन्छ ।
विदेशबाट फर्किएका धेरैले पछिल्लो समय स्वदेशमै इलम थालेका छन् । उनीहरूले वैदेशिक रोजगारका क्रममा कमाएको पैसा र सिकेको सीप गाउँमै खर्चिएर उद्यम शुरु गरेका छन् । धेरै व्यक्ति अरूको हल्लाको पछि लागेर विदेशिने गरेकाले कतिपय युवाले विदेशमा निकै दुःख पनि पाएको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता कार्यक्रम चलाइरहेका सन्तोष मगरको भनाई छ ।
मगरका अनुसार गाउँमा राम्रो रोजगारीको माध्यम नदेख्नु, विदेशमा सहज रूपमा पैसा कमाइने धारणा बनाउनु र साथीसङ्गतका कारण धेरैजसो विदेशिने गरेका हुन् । स्थानीय तहसँगको समन्वयमा सुरक्षित आप्रवासनको प्रवद्र्धन र मानव वेचविखन रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका मगरले स्वरोजगारका लागि आफूहरुले उद्यमशीलता तालिम दिन थालेपछि वैदेशिक रोजगारको दर घटेको अनुभव पनि छ ।
‘हामी यो कार्यक्रममार्फत पहिले विदेश नजान अनुरोध गर्छौँ । यदि उहाँहरू विदेशिने सोँचमा पुग्नुभएको रहेछ भने त्यो देशका बारेमा जानकारी गराउने काम गर्छौँ ।’’ मगरले भन्नुभयो । धेरैमा आफू रोजगार हुन नसकेका कारण नै विदेश जाने सोँच आएको देखिएको उहाँले बताउनुभयो ।
मगरले गत करीव डेढ वर्षमा विदेशबाट फर्किएका दुई सय ४१ जनालाई उद्यमशिलता तालीम दिएर गाउँमै काम गर्न आफूहरूले सहयोग पु¥याएको बताउनुहुन्छ । यो समयमा स्थानीय क्षेत्रमा जे उत्पादन हुन्छ त्यहीसम्बन्धी तालिम दिँदा धेरैजसो विदेशिन खोज्ने युवापनि स्वदेशमै काम गर्न थालेको मगरले सुनाउनुभयो ।
विदेश नगइ स्वदेशमै रोजगार दिलाउनका लागि र विदशिए पनि सुरक्षित बनाउनका लागि यहाँका चार स्थानीय तहमा सुरक्षित आप्रावासन परियोजना सञ्चालनमा रहेको छ । उनीहरूले विदेश जान नियन्त्रण र न्यूनीकरणका लागि परियोजना शुरु गरेका हुन् । गत मङ्सिरबाट शुरुभएको यो परियोजना जिल्लाको इलामनगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ्ग गाउँपालिकामा सञ्चालन भइरहेको छ ।
वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर परियोजनाले काम गर्दै आएको छ । परियोजनाका इलाम जिल्ला संयोजक इश्वरी तामाङले परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापना कार्यक्रम गर्दै आएको बताउनुभयो ।
सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्ने काममा सूचना तथा परामर्श केन्द्र कार्यरत छ । वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोगमा पनि काम गर्दै आइरहेको तामाङको भनाई छ । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने काम पनि परियोजनामार्फत भइरहेको बताइएको छ ।
परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, जान लागिएको देशको बारेमा सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।