पोखरा महानगरपालिका–४ स्थित बूढानीलकण्ठ मन्दिर र स्थानीय विभिन्न आमा समूहलाई रु ११ लाख बराबरका अत्यावश्यक सामग्री प्रदान गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सो रकम सहयोग गर्नुभएको हो । सो मन्दिरद्वारा सञ्चालित तीर्थयात्री आश्रमका लागि श्यया विस्तारासहित नौवटा आमा समूहलाई २१५ थान फलामे कुर्ची वितरण गरिएको हो ।
आश्रमका लागि २५ वटा लोवेड, ४० थान डसना र ब्ल्याङक्वेट तथा ८० थान सिरानी प्रदान गरियो भने सिर्जनशील आमा समूहलाई ५०, डाँडाथर आमा समूहलाई ४०, अम्बिका आमा समूहलाई २५ र कोलापाटन आमा समूह र चण्डीटोल आमा समूहलाई २०÷२० थान फलामे कुर्ची वितरण गरिएको थियो । त्यस्तै नेपाल आदर्श महिला समूह, जनहित महिला समूह, नमूना महिला समूह र मुस्लिम समूहलाई १५÷१५ थानका दरले कुर्ची वितरण गरिएको हो ।
मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य कोइरालाले रकम सानो भए पनि पूर्वाधार विकास कार्यक्रमले आवश्यकताको पहिचान गरी सबै क्षेत्र र वर्गलाई समेट्न प्रयास गरेको धारणा राख्नुभयो ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कास्की २ (ख) अनुगमन समितिको संयोजकसमेत रहनुभएका उहाँका अनुसार क्षेत्रअन्तर्गतका चार जना प्रदेशसभा सदस्यमार्पmत सञ्चालन भएका २५ योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि समुदायस्तरबाट सचेत हुन आग्रह गर्दै उहाँले समाजमा हुने प्रत्येक गतिविधिमा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गर्नुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर कोइरालाले तीर्थयात्रीको सुविधाका लागि मन्दिरले आश्रमसमेत सञ्चालन गरेको जानकारी दिँदै अत्यावश्यक भान्छा कोठा निर्माणका लागि सहयोग गरिदिनुहुन तीनै तहका जनप्रतिनिधिसमक्ष अनुरोध गर्नुभयो ।