विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बुझाउने उद्देश्यले आधा घण्टा लामो वृत्तचित्र निर्माण गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ । वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो ।
वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको छ । वृत्तचित्रले बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने समितिले जनाएको छ । नेपाल आउने सबैजसो पर्यटकलाई बौद्ध क्षेत्र घुमाउने गरी जानकारी दिन वृत्तचित्र सफल रहेको अध्यक्ष लामाले बताउनुभयो ।
बौद्ध चैत्यमा अग्नि नियन्त्रक यन्त्र
समितिले बौद्ध चैत्य क्षेत्रमा हुनसक्ने आगलागीलाई तत्काल नियन्त्रण गर्ने उद्देश्यले रु ४९ लाखको लागतमा अग्नि नियन्त्रक यन्त्र जडान गरेको छ । यन्त्र सञ्चालनका लागि ‘थ्री फेज’ को विद्युत् आवश्यक पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणमा मागको निवेदन गरिएको छ ।
साउनदेखि नै यन्त्र सञ्चालनमा आउने गरी ‘थ्री फेज’ लाइन बाहेकको काम सम्पन्न भएको समितिका प्राविधिक रमेश धिमालले बताउनुभयो । एक सातामा प्राधिकरणले लाइन जोड्ने प्रतिबद्धता जनाएको छ । यन्त्रबाट पानी फाल्न २२ हजार ५०० लिटरको पानी ट्याङ्की निर्माण गरिएको छ । समितिले अग्नि नियन्त्रक यन्त्रको परीक्षण पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।
समितिले बनाएको रिजर्भ ट्याङ्कीको पानी सकिएमा दमकलबाट हालेर आगलागी नियन्त्रण गर्न सकिने जनाइएको छ । आकस्मिक रुपमा आगलागी भएर विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्वको बौद्ध क्षेत्रमा क्षति हुनसक्ने सम्भावनालाई न्यून गर्न यन्त्र जडान गरिएको हो । यन्त्रले आगलागीलाई नियन्त्रणका लागि प्राथमिक काम गर्नेछ । त्यसबेलासम्म दमकल पनि आइपुग्ने भएकाले तत्कालै आगलागीलाई नियन्त्रणमा लिन सकिने समितिको विश्वास छ ।
चार महिनादेखि पर्यटक शून्य
चैत लागेदेखि नै पर्यटक सङ्ख्या घटेको बौद्ध क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीपछि शून्यमा झरेको छ । पर्यटक नआउने भएपछि बौद्ध क्षेत्र छिर्नेलाई टिकट काट्न राखिएका चारवटै काउन्टर चार महिनादेखि बन्द रहेका समितिका सदस्य मजेन्द्र सिंहले बताउनुभयो ।
बौद्ध क्षेत्रमा आन्तरिक पर्यटकलाई प्रवेश निःशुल्क छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका पर्यटकलाई प्रति व्यक्ति रु १०० र सार्क बाहिरका पर्यटकलाई प्रतिव्यक्ति रु ४०० शुल्क लिइन्थ्यो । शुल्कका कारण समितिलाई हालसम्म करोडौँ घाटा लागेको जनाइएको छ । बौद्ध क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउँथे ।
बौद्ध चैत्य वरपर पसल, रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्नेलाई असार १७ गतेदेखि खुला गर्न दिइएको अध्यक्ष लामाले सुनाउनुभयो । बिहान ८ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म बौद्ध क्षेत्रका व्यवसाय सञ्चालन गर्न सकिने जनाइएको छ । बौद्ध चैत्यको माथि चढ्न नदिए पनि असार १७ गतेदेखि नै बौद्ध स्तुप घुम्न भने खुला गरिएको छ ।
बौद्ध चैत्यको माथि जान भने हाललाई निषेध गरिएको छ । पूजा आजा एवं प्रार्थनाका लागि पनि आम मानिसलाई स्वीकृति दिइएको छैन । चिनियाँ लामाबाट हुने नित्य पूजा आराधना भने जारी रहेको जनाइएको छ ।