परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आज काठमाडौँको तीनकुनेस्थित विश्व शान्ति विहार जानु भई स्व ज्ञानपूर्णिकको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि दिनुभएको हो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ८१ वर्षीय भिक्षु ज्ञानपूर्णिकको शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीर तीनकुनेस्थित विश्व शान्ति विहारमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले पनि स्व ज्ञानपूर्णिकको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भिक्षु निग्रोधका अनुसार प्रधानमन्त्रीका धर्मपत्नी शाक्यले आज विश्व शान्ति विहार पुगेर स्व भिक्षु ज्ञानपूर्णिकको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । उहाँलाई श्रद्धाञ्जलि दिन सांसदहरु कृष्णगोपाल श्रेष्ठ, सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायत विश्व शान्ति विहार पुग्नुभएको थियो ।
यस्तै नेपालका लागि थाइल्यान्ड र म्यान्माका राजदूतले समेत भिक्षु डा ज्ञानपूर्णिकको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँहरुले विश्व शान्ति विहार पुगेर स्व ज्ञानपूर्णिकप्रति श्रद्धाञ्जलि दिनुभएको भिक्षु निग्रोधले जानकारी दिनुभयो । स्व ज्ञानपूर्णिकको बौद्ध धार्मिक परम्पराअनुसार आइतबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
भिक्षु ज्ञानपूर्णिकलाई उपचारका लागि दुई महिनाअघि सुमेरु अस्पताल भर्ना गरिएको थियो । उहाँको बुद्ध शिक्षा र विपश्यना विकासमा महत्वपूर्ण योगदान रहेको छ । भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० वटा किताब लेख्नुभएको छ । उहाँ धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहनुभएको थियो । उहाँले थाइल्यान्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गर्नुभएको थियो । भिक्षु ज्ञानपूर्णिक थेरवाद बुद्ध धर्मको सातौँ सङ्घनायकसमेत हुनुहुन्थ्यो ।