वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश नं ५ का विभिन्न जिल्लामा असर पु¥याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर उनी बेपत्ता भएका हुन् । साथीहरुसँग नदीको ढावा किनारमा पौडी खेल्ने क्रमा आएको बाढीले कञ्चन– ४ प्रगतिचोक बस्ने टेकबहादुर थापाका १७ वर्षीय छोरा अर्जुनलाई बगाएर बेपत्ता बनाएको थियो । उनको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।
निदाउनै सक्दैैनन् स्याउलीबासी
तानसेन ः पाल्पाको रामपुर नगरपालिका – १ स्याउलीबजार क्षेत्रका मानिसलाई पानी पर्नेबित्तिकै घर पहिरोले लैजान्छ कि भन्ने पिर लाग्छ । स्याउलीबजार तथा निस्दी गाउँपालिकाको मित्याल जोड्ने मोटरबाटोमा पर्ने पाँच घर पहिराको जोखिममा छन् । स्याउलीबजारका गमबहादुर मल्ल, सूर्य श्रेष्ठ, दानस मल्ल, बालकुमारी मल्ल र लक्ष्मी उचैको घर पहिराको जोखिममा परेका हुन् ।
ठेकेदारले निर्माणकै क्रममा बाटाको माटो नसोहोरीकन छाडेकाले हिँडडुलमा समेत समस्या भएको स्थानीयवासी दानसले बताउनुभयो । थप पानी प¥यो भने माथिबाट पहिरो खसेर कुनै पनि बेला घरमै क्षति पुग्ने हो कि भनेर रातभर निदाउन नसकेको स्थानीयवासी सूर्यले गुनासो गर्नुभयो । ठेकेदार शम्भु रेग्मीले भल पस्न सक्ने भए पनि पहिराको सम्भावना कम भएको बताउँदै सडकको माटो हटाएर सफा गरिने आश्वासन दिनुभयो । शिव खिम्ती, पशुपति र मोबाइल निर्माण कम्पनीले तीन चरणमा सडकको काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको प्राविधिक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्याउलीबजार र फुर्केचौर, दोस्रो चरणमा फुर्केचौर र बर्दाकोट तथा तेस्रो चरणमा बर्दाकोट मित्यालसम्म बाटो चौडा पार्ने तथा मर्मत गर्ने कार्य सम्पन्न गरिनेछ ।
इञ्जिनीयर पौडेलले बाटाको भललाई अन्यत्रैबाट काट्ने र घरलाई जोखिमबाट बचाउने पहल गरिएको जानकारी दिनुभयो । करीब २५ किलोमिटरमध्ये ५ किलोमिटर मात्रै काम भएको बताइएको छ । सडक विभागको पूर्वाधार विकासअन्तर्गतको करीब रु ५ करोडको लागतमा सडक चौडा तथा मर्मत शुरु गरिएको हो । यसँगै कालीगण्डकी करिडोरअन्तर्गतका रामपुर क्षेत्रका सडकमा समेत हिलो, चिप्लो र पहिराका कारण आवतजावतमा समस्या छ ।
खानेपानी समस्यामा धुवाङबासी
झिमरुक– ऐरावती गाउँपालिका –४ धुवाङका बासिन्दालाई खानेपानी समस्याले पिरोलेको छ । यही असार १२ गते राति पानीसँगै आएको बाढीपहिराले खानेपानीको मुहानमा क्षति पुगेपछि समस्या भएको स्थानीयवासी बताउँछन् । पहिराले खानेपानीको ट्याङ्कीसमेत पुरेपछि गाउँमा खानेपानीको समस्या भएको हो ।
आधा घण्टासम्म पैदल हिँडेर वडा नं ४ को कैनपानी मूलबाट खानेपानीको जोहो गरिएको स्थानीयवासी खगेन्द्र खत्रीले बताउनुभयो । धेरै वर्षप िधुवाङ खोलाले मुहान थुनेपछि धुवाङ र खम्ची क्षेत्रका २११ घरपरिवार प्रभावित भएको उहाँको भनाइ छ । धुवाङ खोलाको बाढी र पहिराको डरका कारण आकाशबाट पानी परेपछि यहाँका बासिन्दा डरले घरबाहिर निस्कन थालेका छन् । बाढीले स्थानीयवासीका बारी भत्काइदिएको छ । सम्भावित जोखीम न्यूनीकरणका लागि स्थानीयवासीले तारजाली र तटबन्धका लागि माग गरेका छन् ।
चेरनेटा– चिन– जाबुने– अमिली सडकखण्ड विस्तार गर्ने क्रममा धुवाङ क्षेत्रमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । यहाँ बाढीपहिराले खानेपानी तथा अन्य क्षेत्रमा क्षति पु¥याएपछि गाउँपालिका तहबाट स्थलगत निरीक्षण गरिएको उहाँको भनाइ छ । निरीक्षणका क्रममा खानेपानी समस्यासंँगै पाइप बगाएको पाएपछि खानेपानी कार्यालयबाट गाउँपालिकाले माग गरी उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । (रासस)