क्यानबेरा, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा एकसय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गर्नु भएको छ । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताउनुभयो ।
उहाँले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताउनुभयो ।
प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भन्नुभयो, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।”
उहाँले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ भन्नुभयो । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तिब्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन भन्नुभयो ।
अस्ट्रेलियाली सेनाको क्षमता बिस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १२४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा अब ३७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रलिया सरकारको भनाई छ ।
नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ । रासस–एप