नेपालमा कोभिड– १९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताउनुभयो ।
उहाँले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८७ सङ्घसंस्थालाई कोभिड– १९ को अध्ययन अनुसन्धान गर्न अनुमति दिइएको छ ।
नेपालमा पहिलो पटक गत माघ ९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म १२ हजार ७७२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै तीन हजार १३ जना कोभिड– १९ मुक्त भएका छन् भने २८ जनाको कोभिड– १९ का कारणले निधन भएको छ ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले कोभिड– १९ को जीन, स्टिमा, क्लिनिकल, किट, बिरामीको लक्षणलगायत विषयमा अध्ययनका लागि अनुमति माग गरिएको बताउनुभयो ।
उहाँले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर ती सङ्घसंस्थालाई कोभिड– १९ को अनुसन्धान गर्न दिइएको जानकारी दिनुभयो । उहाँले अध्ययन अनुसन्धानले पछि कोभिड– १९ को भ्याक्सिन बनेपछि प्रयोग गर्न सजिलो हुने बताउनुभयो । परिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।
एक सय ७९ डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट आज १८९ जना कोभिड १९ को सङ्क्रमणबाट मुक्त भएका छन् । तीमध्ये १३ महिला र १६६ पुरुष रहेका छन् ।
उहाँका अनुसार रौतहटस्थित आइसोलेशन सेन्टरबाट ४६ पुरुष, कोभिड– १९ अस्पताल सतही, धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट पाँच महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट तीन पुरुष, साइकृष्ण आइसोलेशनबाट एक महिला र १५ पुरुष रहेका छन् ।
यस्तै कोरोना अस्पताल दाङबाट छ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहाबाट छ पुरुष, महेन्द्र जनरल अस्पताल सिराहाबाट एक महिला र १२ पुरुष र कलैया अस्पताल बाराबाट १७ पुरुष रहेका छन् । उहाँका अनुसार अहिलेसम्म कोभिड– १९ मुक्त हुने तीन हजार १३ जना रहेका छन् । तीमध्ये दुई हजार ७५८ जना पुरुष र २५५ महिला रहेका छन् । यसैगरी विगत २४ घण्टामा चार हजार ९६२ जनामा पिसिआर र दुई हजार ७३२ जनामा आरडिटी परीक्षण गरिएको छ ।