कोरोनाको कारण तेस्रो मुलुकमा समस्यामा परेका १० हजार ४ सय १६ नेपाली स्वदेश फर्किएको जानकारी प्राप्त भएको छ । उनीहरुलाई जेठ २२ देखि असार १२ गतेसम्ममा विभिन्न एयरलाइन्स मार्फत २० मुलुकबाट स्वदेश फर्काइएको हो ।
कुन देशबाट कति फर्काइए ?
लकडाउनका कारण विदेशमा ३ महिनादेखि अड्किएका नेपालीहरुलाई चार्टर जहाजमार्फत् स्वदेश फर्काइएको हो। रोजगारी गुमाएका, भिसा अवधि सकिएका, गर्भवती, कोरोना बाहेकका अन्य बिरामी, व्यवसायीक कामका लागि गएर अलपत्र परेका, पर्यटक भिसामा गएर रोकिएका लगायतलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइएको हाे।
हालसम्म सबैभन्दा बढी कुवेतबाट १३ वटा उडानमार्फत् २००२ नेपाली स्वदेश फर्किएका छन्। त्यसपछि युएईबाट ११ वटा उडानमार्फत् १,८७१, मलेसियाबाट ७ वटा उडानमार्फत् ९२३, बगंलादेशबाट ४ वटा उडानमार्फत् ८१५, साउदीबाट ५ वटा उडानमार्फत् ८१० र कतारबाट ५ उडानमार्फत ६३८ नेपाली स्वदेश फर्किएका छन् ।
यस्तै, माल्दिभ्सबाट ४ वटा उडानमार्फत् ६०४, जापानबाट ४ वटा उडानमार्फत् ४९२, बहराइनबाट ३ उडानमार्फत् ४२३, थाइल्याण्डबाट २ उडानमार्फत् ३२६, ओमानबाट दुई उडानमार्फत् ३१३, अमेरिकाबाट २८२, अस्ट्रेलियाबाट २ वटा उडानमार्फत् २६९, दक्षिण कोरियाबाट २२८, सिंगापुरबाट १४६, बेलायतबाट १४६, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, , अफगानिस्तानबाट १८, हङकङबाट ७ र श्रीलंकाबाट ५ जना गरी १० हजार ४१६ नेपाली स्वदेश फर्किएका हुन् ।