एउटै छानामुनि हिमाल र हिमालीका गतिविधिका बारेमा जानकारी लिन सकिने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा कर्मचारी युनियन गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय परिसरमा आज आयोजित कर्मचारीको भेलाले राजन जोशीको अध्यक्षतामा नौ सदस्यीय कर्मचारी युनियन गठन गरेको हो ।
समितिको सचिवमा विकल लामा, कोषाध्यक्षमा भावना शर्मा तिमिल्सिना एवं सदस्यमा विजय लामा, लेखबहादुर भुजेल, सरिता कँडेल, रामबहादुर थापा, सरस्वती नेपाली र सिर्जना गौतम रहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भेलाको उद्घाटन गर्दै युनियनमा आबद्ध सदस्यले कर्तव्यनिष्ट, अनुशासित भएर आप्mनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको संविधानले श्रमजीवीको हकअधिकार सुनिश्चित गराएको बताउँदै उहाँले यसको सफल कार्यान्वयनका लागि रोजगारदाता र श्रमजीवीबीच सुमधुर सम्बन्ध हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । “पर्वतीय सङ्ग्रहालय मुलुककै एउटा गौरव हो”, उहाँले भन्नुभयो, “यसलाई विश्वव्यापीरुपमा परिचित गराउनु हामी सबैको सामूहिक दायित्वमा पर्दछ ।”
नेपाल ट्रेडयुनियन महासङ्घ (जिफण्ड) महिला कमिटीका केन्द्रीय अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो । संस्थामा आबद्ध प्रत्येक सदस्यले बिरामी हुँदा उपचारका लागि रु ४० हजारको आर्थिक सहयोग प्राप्त गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले संस्थाले सरकारसँगको सहकार्यमा न्यून पारिश्रमिक पाउने विदेशमा रहेका श्रमजीवीलाई स्वदेश फर्काउन पहल गरिरहेको जानकारी दिनुभयो ।
जिफण्ड गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले संवैधानिक हकअधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताउँदै श्रमजीवी वर्गको नेतृत्व विकासका लागि ज्ञान सीप विकासका लागि आवश्यकताअनुसार तालिमको व्यवस्था गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा पोखरा– १७ का वडाध्यक्ष सुभास ढुङ्गाना, प्रेस सङ्गठन गण्डकी प्रदेश सदस्य हरि बाँस्तोला, स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष गोविन्द योगी लगायतले युनियन गठनले कर्मचारीको अधिकारप्राप्तिका साथै संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सङ्ग्रहालयका कूल २३ कर्मचारीमध्ये १८ जना सो युनियनमा आबद्ध रहेका छन् ।