कैलाली टीकापुरका किसानले बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया (केमोमाइल)खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् ।
यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो रहेको जमिनमा सो खेती गर्छन् । बाँझो जमिनको प्रयोग र बिक्री गर्न समस्या नहुने भएपछि सो खेतीतर्फ आकर्षित भएका हुन् । एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल रु. एक हजार ५० रुपैँयामा बिक्री हुन्छ भने केमोमाइल रु. १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ ।
‘‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’’, कम्पनीका शाखा प्रमुख कमल बेल्वासेले भन्नुभयो, ‘‘सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ ।’’ प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उहाँले बताउनुभयो । ‘‘केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ’’, उहाँले भन्नुभयो, ‘‘मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ ।’’
कम्पनीले यस क्षेत्रका किसानलाई ती जडीबुटीका विरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । कम्पनीले उत्पादित जडीबुटी पनि आफैँले खरिद गरिदिने गरेकोले खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
यस वर्ष टीकापुरमा केमोमाइल ५० केजी मात्र उत्पादन भएको छ । यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो । अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती भएको कम्पनीले जनाइएको छ ।
गर्त बर्षको तुलनामा केमोमाइल उत्पादन ५० प्रतिशत कमी भएको किसानको गुनासो छ । कोरोना सङ्क्रमका कारण तयार भएको जुडीबुटी स्याहार्न नपाउँदा किसानले क्षति बेहोर्नु परेको हो ।
यसबर्ष कम्पनीले अनुमान गरे बराबरको क्यामोमाइल उत्पादन भएन । कम्पनीले १५० केजी केमोमाइल तेल उत्पादन हुने अनुमान गरेको थियो तर ५० केजी मात्रै उत्पादन भयो ।
लकडाउनका कारण किसानले खेती स्याहार्न नसक्दा यस वर्ष घाटा भएको टीकापुर–१ का कृषक राधेश्याम चौधरीले बताउनुभयो । ‘‘लकडाउनले समयमै खेती स्याहार्न पाएनौँ जसले उत्पादनमा कमी आयो’’, उहाँले भन्नुभयो, ‘‘लकडाउनको समयमा कम्पनी पनि केही दिन वन्द थियो । त्यसैले किसान र कम्पनी दुबैलाई केही नोक्सानी भएको छ ।’’
कम्पनीका अनुसार यस वर्ष मेन्था भने दुई टन (२ हजार किलो) उत्पादन भएको छ । यतिखेर किसानले मेन्था प्रशोधन गरिसकेका छन् । मेन्था खेती स्याहारेपछि किसानले धान खेती गर्छन् ।
यहाँका किसानले दुई कठ्ठादेखि दुई विघासम्म खेती गरेका छन् । ‘‘खेती बाँझो रहने समयमा जडीबुटी रोपेर आम्दानी लिइरहेका छौँ’’, टीकापुर वनगाउँको बीचकापुरुवाका किसान राजेन्द्र चौधरीले भन्नुभयो, ‘‘यो खेतीमा विषादी प्रयोग गर्नु पर्दैन । यसमा सिँचाइको सुविधा भए पुग्छ । जडीबुटीलाई गाइबस्तुले पनि खासै नोक्सान गर्दैनन् ।’’
प्रशोधन कम्पनीसँग जुडिबुटी प्रशोधन गर्ने दुई थान मेशिन थिए । खेती गर्ने किसान बढेपछि जडिबुटी प्रशोधन कम्पनीले थप चार मेसिन बढाएर छ पु¥याएको छ ।
जडीबुटी खेती अन्नबाली भन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ । परशुराम चौधरीले तरकारी खेती गर्नुभन्दा जडीबुटी सजिलो भएकोले मेन्था खेती गर्न थालेको बताउनुभयो । उहाँले यस वर्ष आठ कठ्ठा जमिनमा मेन्था लगाउनुभएको थियो । ‘‘आठ कठ्ठामा ३२ किलो मेन्था उत्पादन भयो । सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी लिन सकिन्छ’’, उहाँले भन्नुभयो, ‘‘जडीबुटी खेती गर्दा बजारसमेतको समस्या नभएकोले सहज भएको छ । बजार आफैँ खोज्नुपर्दैन, कम्पनीले जडीबुटीको बीउ पनि दिन्छ र उत्पादन पनि आफैँले किनिदिन्छ ।’’
कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमितरुपमा ३० जना दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । औद्योगिक क्षेत्रमा तीन हेक्टर जमिनमा जडीबुटी उद्योग सञ्चालनमा छ । जडिबुटी उद्योगसँग रहेको छ वटा प्रशोधन मेशिन दैनिक १६ घण्टा चल्छन् । ‘‘कम्पनीले दैनिक ५० टन जडिबुटी प्रशोधन गर्न सक्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ । अन्य समयमा कोरा जडिबुटी सङ्कलनको काम गर्छौं ।’’
पछिल्लो समय स्थानीय तहले पनि जडीबुटी खेती गर्ने किसानलाई सघाउने नीति लिएका छन् । लम्कीचुहा नगरपालिकाले जुडीबुटी खेती गर्न चाहने किसानलाई आवश्यक अनुदान दिने जनाएको छ । ‘‘जडीबुटी गर्न चाहने किसान आएमा हामी लगानी गर्न तयार छौँ’’, नगर प्रमुख महादेव बजगाईले भन्नुभयो, ‘‘किसानले योजना ल्याएमा अनुदान दिन्छौँ ।’’