रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा दशगजामा शान्तिद्वार निर्माण गर्ने र नगरका सबै भवनमा बौद्ध रङ लगाउने योजना समेटेको छ । आजदेखि शुरु भएको सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले सीमामा भव्य र आकर्षक शान्तिद्वार निर्माण गरिने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा सिद्धार्थनगरका सबै विद्यालय भवन, सरकारी भवन र व्यक्तिगत भवनको रङ बौद्ध रङ(नीलो, पहेँलो, रातो, सेतो र वैजनी) बनाउने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ । सिद्धार्थनगरले यसअघि नगरभित्रका भवनको रङ पञ्चरङ्गी बौद्ध रङ बनाउने निर्णय गरे पनि बाध्यकारी नभएको तर नगर प्रमुखद्वारा प्रस्तुत कार्यक्रमले आगामी आर्थिक वर्षमा नगरभित्रका सबै भवनको रङ बौद्ध रङ बनाउने गरी अभियान नै चलाउने बताइएको छ ।
यसैगरी नगर प्रमुख आवास कार्यक्रम, डण्डानदी संरक्षण क्षेत्र अभियान, मेरो नगर सफा नगर अभियान सञ्चालन गर्ने, एक घर दुई बिरुवा नीति अगाडि बढाउने, प्रेस सेन्टर स्थापना गर्ने र प्रेससंँग जनप्रतिनिधि कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने, नगरभित्र दर्ता भई सञ्चालनमा आएका मिडियाको संरक्षण र प्रबद्र्धनका लागि सहयोग गर्ने जस्ता कार्यक्रम समेटिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताउनुभयो ।
ओमसतियाको नीति ः एक वडा एक उत्पादन
सिद्धार्थनगरसंँगै जोडिएको ओमसतिया गाउँपालिकाले एक वडा एक उत्पादन नीति अघि सारेको छ । गाउँपालिका अध्यक्ष हीरा केवटले आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषि परियोजनाका लागि भाडामा जग्गा लिएर कृषि गर्ने किसानलाई प्रतिकठ्ठा रु तीन पाँच सयको ५० प्रतिशतले हुन आउने रकम अनुदान दिने तथा बीउ र बिरुवामा ५० प्रतिशत अनुदान दिने गरी कृषिलाई प्राथमिकतामा राखिएको छ ।
पालिकाले सुत्केरीलाई पोषण आहार कार्यक्रमअन्तर्गत रु एक हजार भत्ता, बालिका बीमा, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा जोड, विद्यालयमा दिवा खाजालगायत कार्यक्रम समेटेको पालिकाका प्रवक्ता शिवकुमार धवलले जानकारी दिनुभयो ।
RSS