अब झापाको मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने भएको छ । प्रदेश सरकारले त्यहाँ पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको हो । योसँगै मेची अस्पतालमा कोरोना परीक्षण हुने पक्का भएको छ ।
प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा कोसी अस्पताल विराटनगर र प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण ल्याब सञ्चालनमा छन् । झापामा दुईवटा थपिए पीसीआर ल्याबको संख्या पाँच हुनेछ । सरकारले प्रदेशभर दैनिक दुई हजार नमुना परीक्षण गर्न सक्ने क्षमतामा ल्याब सञ्चालन गर्ने मुख्यमन्त्री शेरधन राईले जानकारी गराएका छन् ।
झापामा सरकारको तयारीबारे प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेशसभामा जानकारी गराएका छन् । बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बोले प्रदेशभर जम्मा पाँचवटा पीसीआर ल्याब सञ्चालन गर्ने सरकारको योजनाअनुरूप मेची अस्पतालमा पनि काम अघि बढेको बताए ।
मन्त्री आङ्बोले भने, “मेची अस्पतालमा पीसीआर ल्याब राख्ने तयारी सुरु भइसक्यो अर्को ल्याब झापाकै दमकमा राख्ने कि भन्ने पनि छलफल भइरहेको छ ।” दमकमा ल्याब राख्ने पूर्वाधार भएको तर यसबारे निर्णय भने हुने बाँकी रहेको उनले बताए ।
झापामा सबैभन्दा धेरै कचनकवलमा कोरोना संक्रमित फेला परेका छन् । यो गाउँपालिकामा मेची अस्पताल रहेको जिल्ला सदरमुकाम भद्रपुरबाट पनि नजिक पर्छ । केही समयअघि मेची अस्पतालमा पीसीआर मेसिनसहितको ल्याब राख्न प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले साबिक मेची अञ्चलका पहाडी जिल्लामा संकलन गरिने नमुनासमेत मेची अस्पतालमा परीक्षण गर्न सहज हुने सरकारलाई सुझाव दिएका थिए ।
प्रदेश १ सरकारलाई तिब्बत सरकारले केहीअघि दुई थान पीसीआर मेसिनसहित स्वास्थ्य सामग्री सहयोगस्वरूप उपलब्ध गराएको थियो । अब ल्याब सञ्चालन गर्न सहज भएको आर्थिक मामिलामन्त्री आङ्बोले बताएका छन् । “सरकारले कोरोनाबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न र परीक्षणको दर बढाउन पाँच स्थानमा ल्याब सञ्चालन गर्दै छ,” उनले भने, “परीक्षण ब्यापक बनाउनु नै अहिलेको आवश्यकता पनि हो ।”
सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । २२४ जना कोरोना ठीक भई डिस्चार्ज भएका छन् । मोरङमा मात्र कोरोना संक्रमितको संख्या १०४ छ ।