वाग्मती सफाइ महाअभियानले नदी किनारको दायाँबायाँका स्थानीय तहसँग सहकार्य गरी प्रदूषण नियन्त्रणमा काम गर्ने भएको छ । जुम प्रविधिबाट आयोजना गरिएको महाअभियानको बैठकमा यसै साता गोकर्णेश्वर, कागेश्वरी मनोहरा र कीर्तिपुर नगरपालिका एवं काठमामाडौँ तथा ललितपुर महानगरपालिकासँग पहिलो चरणमा वार्ता गर्ने निर्णय गरिएको हो ।
सफाइका लागि चेतना अभियानलगायत विषय नगरपालिकाको कार्य योजनामै राख्ने उद्देश्यले वार्तासहित सहकार्य गर्न लागिएको हो । बैठकमा विसं २०७० जेठ ५ गतेदेखि महाअभियान शुरु गर्न लागि पर्नुभएका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाई सफाइ अभियानमा लगाउनुपर्ने बताउनुभयो ।
“सफाइ चेतना जागरण, फोहर वर्गीकरण, फोहरलाई मोहरमा परिणत गरी आयआर्जनमा सहभागी गराउन स्थानीय तह र जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ, पहिलो चरणमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्नुपर्छ, दोस्रो चरणमा वडा तहमा जानुपर्छ”, उहाँले भन्नुभयो । सफाइ अभियानकर्मी एवं पूर्व सचिव किशोर थापाले बन्दाबन्दीका बेला नदीमै गएर सफाइ गर्न नसके पनि टोल सफाइ गर्दै अरुलाई पनि गर्न नियमित रुपमा सामाजिक सञ्जालबाट सन्देशमूलक सामग्री सम्प्रेषण गर्न सकिने बताउनुभयो ।
सफाइ अभियानकर्मी एवं फोहर मैला महासङ्घका अध्यक्ष डिपी आचार्यले नुवाकोटको ल्याण्डफिल्ड साइट हाल दिनमा तीन घण्टामात्र खुल्ने गरेकाले राजधानीबाट फोहर उठ्न नसकेको बताउनुभयो । स्थानीयवासीले विभिन्न माग राखी केही समय अघि फोहर व्यवस्थापनमा अवरोध गरेकामा हाल तीन घण्टाका लागि मात्र खुला गरिदिएको उहाँले बताउनुभयो ।
फोहर व्यवस्थापनको समस्या समाधान नगरे राजधानीका नदी अझ प्रदूषित हुने भएकाले सरोकार भएका निकायले बेलैमा ध्यान दिनुपर्नेमा अभियानकर्मी राजकुमार भट्टराईले जोड दिनुभयो । घर घरबाट निस्कने कुहिने फोहर घरमै मल बनाएर कौसीखेतीमा उपयोग गराउन प्रेरित गर्न सके राजधानीवासीलाई दोहोरो फाइदा हुनेतर्फ जागरण फैल्याउनुपर्ने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले सुनाउनुभयो ।
बैठकमा अभियानकर्मीहरु डा राजु अधिकारी, नारायणकुमार श्रेष्ठ, डा लक्ष्मी पौडेल, गोकुल थापा, आशा पाण्डे, प्रिया लामिछाने, बेबी राजभण्डारी लगायतले बन्दाबन्दी कायम रहेसम्म समूहमा नदीमा जान नसके पनि सुरक्षित तरीकाले गर्न सकिने सफाइ अभियानमा चेतना जागरण लगायतका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
विसं २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछि जुम प्रविधिबाट आज दोस्रोपटक सफाइ महाअभियानको बैठक गरिएको हो । बन्दाबन्दीअघि प्रत्येक हप्ता बुधबार बैठक गरी शनिबारको सफाइका लागि तयारी हुने गरेको थियो । बैठकले आजैदेखि प्रत्येक हप्ता बुधबार नियमित रुपमा जुम प्रविधिबाट बैठकलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
वाग्मती सफाइ महाअभियानले ३७० हप्ता पूरा गरिसकेको छ । सफाइ महाअभियानबाट प्रेरित भई यसका सहायक नदी एवं देशभरका मुख्य शहर र शहर किनारका नदी, पोखरी, ताल, तलाउ गरी १०६ भन्दा बढी स्थानमा फोहर नफाल्न चेतना जागरणसहित सफाइ अभियान चलिरहेको छ ।