स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख अन्तिम साताबाट भने सङ्क्रमणको दर क्रमशः बढ्दै छ । सरकारले परीक्षणको दायरासमेत बढाउँदै गएको छ ।
जोखिम कायमै रहँदा सर्वसाधारणको माग र आवश्यकतालाई ध्यानमा राखेर यही जेठ २८ गतेको निर्णयअनुसार सरकारले सर्वसाधारणको आवागमनलाई सहजीकरण गर्दै आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ । मानिसको चहलपहल थप वृद्धि हुने हुँदा सङ्क्रमणबाट जोगिन थप चनाखो हुनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने वर्तमान अवस्थामा ठाउँठाउँमा देखिएको प्रदर्शनले निम्त्याउनसक्ने जोखिम स्वयं व्यक्तिका लागि मात्रै नभई आम समाज कै लागि चुनौती बन्दै छ ।
नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की भीडभाड र सामूहिक जमभटले कोभिड–१९ को सङ्क्रमण फैलाउन मद्दत पु¥याउने बताउनुहुन्छ । राजधानी काठमाडौँलगायत जिल्ल्लामा केही दिनदेखि विभिन्न माग राखेर सडकमा प्रदर्शन हुँदै आएको छ । कतिपय युवाले भौतिक दूरी कायम गर्ने प्रयास गरी प्रदर्शनमा उत्रिएको देखिए पनि भीडमा कहीँ न कहीँ चुक्ने चिकित्सक ठम्याई छ । चिकित्सकले रोगबाट जोगिन कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने बताउँदै आएका छन् ।
दुई दिनअघि सडक नै अवरोध हुने गरी प्रदर्शन भएपछि काठमाडौँमा प्रहरीले पानीको फोहरा प्रयोग गरेर हटाउनु परेको थियो । भीडभाडमा जतिसुकै भौतिक दूरी कायम गर्न खोजिए पनि सम्भव हुँदैन । त्यसदिन काठमाडौँमा निस्किएको एउटा समूहको प्रदर्शन भौतिक दूरी कायम गर्ने खालको थिएन । वर्तमान विषम परिस्थितिमा कसैले पनि स्वास्थ्यमा खेलबाड गर्न नहुनेमा जोड दिँदै डा कार्की थप्नुहुन्छ, “कोभिड–१९ बाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाए भनेको ‘सोसल डिस्ट्यान्स’ कायम गर्नु हो, अहिलेको प्रदर्शनले त्यो कायम भएको देखिँदैन, आफ्ना माग भए सामाजिक सञ्जाल वा यस्तै अन्य उपाए अपनाउनुपर्छ, भीडभाड गर्दा आफू मात्रै जोखिममा पर्दैन समाज नै प्रभावित हुन्छ भन्ने कुरा बिर्सनुहुन्न ।”
सामाजिक सञ्जालमा पनि धेरैबाट यसरी प्रदर्शन गर्दा जोखिम बढ्ने भन्दै वैकल्पिक विधि अपनाएर माग राख्न प्रशस्त सुझाव आएको छ । एकजना फेसबुक प्रयोगकर्ता एकनारायण पौडेल आफ्नो स्टेटसमा लेख्नुहुन्छ, “सामूहिक र सङ्गठित आन्दोलन चाहे शालिन वा शान्तिपूर्ण नै किन नहोस् यो कोरोनाको कहरमा जायज मान्न सकिँदैन, सरकारका काम र परिणामलाई समर्थन, खबरदारी, विरोध, आलोचना र दबाब दिन अन्य माध्यमको खोजी हुनुपर्छ ।”
कोभिड–१९ सङ्क्रण रोक्न विश्वव्यापी प्रयोग भएको उत्तम विकल्प बन्दाबन्दीलाई नेपाल सरकारले पनि गत चैत ११ गतेबाट प्रयोग गरेको थियो । बन्दाबन्दी नभएको भए अहिले मुलुकले थेग्न नसक्ने गरी रोग फैलने अवस्था हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निष्कर्ष छ । उपयुक्त समयमा उपयुक्त निर्णय गर्दा रोगको सङ्क्रमण रोक्न सफल भएको सरकारले यसअघि नै सार्वजनिक गरिसेको छ । नेपालको प्रयासलाई विश्वका विकसमित मुलुकले समेत प्रशंसा गरेका छन् ।
यद्यपि अझै पिसिआर विधिको परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन चुस्त पार्नुपर्ने, भारतबाट आउने नागरिकलाई व्यवस्थितरुपमा प्रवेश गराउनुपर्नेलगायत विषयमा अझै केही कमी देखिन्छ । त्यसलाई सम्बोधन गर्न कै लागि परीक्षणको दायरा बढाउने र क्वारेन्टिनलाई व्यवस्थित गर्ने विषयमा सरकार गम्भीर रहेको र क्रमिकरुपमा दायरा फराकिलो हुँदै गएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार सरकारको आधिकारिक पत्रकार सम्मेलनमा जानकारी दिइसक्नुभएको छ ।
सरकारले यही जेठ २८ कोभिड–१९ को महामारीजन्य विशेष परिस्थितिमा स्वास्थ्य मेशिनरी, औषधि र स्वास्थ्य सामग्री जतिसक्दो चाँडो खरिद गर्ने, रोकथामका लागि आवश्यक पर्ने आधुनिक पिसिआर मेशिन, उपकरण सामग्री शीघ्र आपूर्ती गर्ने र परीक्षणलाई व्यापक गराउने निर्णय पनि गरिसकेको छ ।
यस्तै विभिन्न स्थानमा रहेको क्वारेन्टिन र आइसोलेसनलाई थप व्यवस्थित गर्ने र त्यहाँ रहेका सामग्रीलाई सुधार गरी सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तो अवस्थामा प्रदर्शनको बाटो उपयुक्त नहुन सक्छ ।
गृहमन्त्रालयले कोरोनाको कहरमा आम समुदाय र राज्य संयन्त्र नै एकबद्ध भएर अघि बढिरहेको सन्दर्भमा आदेश उल्लङ्घन गरेर भएका प्रदर्शन र भीडभाड गर्ने प्रवृत्ति नरोकिए सरकार कारवाही गर्न बाध्य हुने जनाइसकेको छ । एक जना मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना कतिपय अवस्थामा भीडको मनोविज्ञान तथ्यमा आधारित नहुन सक्ने बताउनुहुन्छ । त्यसो भन्दैमा सडकमा उठेका आवाज दबाउने काम राज्यले गर्न नहुने उहाँ तर्क छ । डा ठगुन्नाका अनुसार मानिस सडकमा निस्किनुमा धेरै कारण हुन्छन् ।
अहिलेको अवस्थामा लामो समयको बन्दाबन्दीले आयस्रोत नै गुम्ने खतरा हुँदा मानिसमा आर्थिक र मानसिक तनाव उत्पन्न हुन्छ । त्यसले बाध्याताबस सडकमा पुग्न सक्छन् र उक्त भीडलाई दुरुपयोग गर्ने समूह पनि निस्कने खतरा हुन्छ । “एक त सरकारले उनीहरुमा परेको आर्थिक तनावलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ, अर्काे यो समस्या विश्वव्यापी हो भन्ने कुरा बुझाउनुपर्छ, सामाजिक सचेतनामूलक सन्देश निरन्तर प्रवाह गराउनुपर्छ, तब भीड रोकिनसक्छ”, मनोविद् डा ठगुन्ना भन्नुहुन्छ ।
अहिलेको समय भनेको भौतिक दूरी कम गर्ने, सकेसम्म अरुसँगको सम्पर्कमा नजानु नै उत्तम हुन्छ । सरसफाइमा ध्यान दिने मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने, स्यानिटाइजर बोकेर हिँड्नलगायत आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड अपनाउने बेला हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ मा कसैले पनि हेल्चेक्रयाइँ गर्न नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतम बताउनुहुन्छ ।
विश्वमा पहिलोपटक गत डिसेम्बर ३१ मा चीनको उहानमा कोभिड–१९ पुष्टि भएको थियो । त्यहीँबाट आएका नेपालीमा गएको माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिले विश्वका २१५ भन्दा बढी मुलुक कोरोनाबाट प्रत्यक्ष प्रभावित छन् । युरोप, अमेरिकासहित हाम्रै छिमेकी मुलुक भारतमा पनि जनधनको ठूलो क्षति भएको ज्वलन्त अवस्थामा त्यसबाट नेपालीले पाठ सिक्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ ।
कोभिड–१९ को असर विश्वव्यापीरुपमा आर्थिक र मानवीय क्रियाकपालमा प्रत्यक्ष देखिएको छ । विश्वव्यापी समस्यालाई कुनै एक देशको मात्रै समस्या हो, एउटा सरकारले मात्रै निम्त्याएको समस्या हो भन्ने तर्कको सट्टा कसरी समस्यासँग जुध्ने, कसरी रोगको निदानमा सरकारलाई घच्घच्याउने र मासिनलाई रोगको सङ्क्रमणबाट बचाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता छ । (रासस)