जमुना वर्षा शर्मा
पोखरा–४ गैह्रापाटनका प्रकाश कोइरालाई एक दिन पुख्यौली सम्पत्तिको याद आयो । बाबुबाजेले जोगाएको सम्पत्तिप्रति चासो बढेसँगै एक बिहानै हुँइकिएर उहाँ पोखरा–२६ लेखनाथस्थित गुँदेताल पुग्नभयो ।
भिरालो पाखोबारी जङ्गलमा परिणत भएको थियो । स्थानीयवासीले घाँस दाउरा गर्ने उक्त स्थानलाई नामाकरण गरिदिएका थिए ‘कोइरालाको कुनो’ । बाइस रोपनी पाखोलाई एकबिहान नियालेर फर्केसँगै उहाँको मनमा अनेक कुरा खेल्यो । पुख्र्यौली सम्पत्तिको सही सदुपयोगका लागि धेरै विकल्प अघि आए, शुरुमा कुखुरा पाल्ने सोच पनि आयो । उहाँले युट्युबबाट जानकारी लिने क्रमममा कालिज फार्मको बारेमा भेट्नुभयो । कालिजबारे राम्रै जानकारी भेटियो । मन बदलियो कुखुराबाट कालिजतिर । घरपरिवारबाट पनि राम्रो प्रतिक्रिया पाएपछि उहाँ थप उत्साहित हुनुभयो ।
सफल मान्छे नयाँ काम गर्दैनन् तर त्यही काम फरक ढङ्गले गर्छन् भन्ने उदाहरण कोइरालाले दिएको छ । उमेरले ३५ वर्ष पुग्दै गर्दा एक सफल युवा व्यवसायीको छवि बनिसकेको छ । पोखराको चिप्लेढुङ्गामा पोखरा बाराही ज्वेलर्स, फेवा डेण्टल क्लिनिक, मुनाल ड्राइभिङ इन्स्टिच्युटका सञ्चालकसमेत रहनुभएका कोइरालाले पुराना गाडी खरिद बिक्रीका लागि रिकण्डिशनहाउससमेत सञ्चालन गर्नुभएको छ ।
गत भदौमा ती पाखो जग्गालाई डोजरले सम्याएर कालिज व्यवसायमा जुट्नुभएका कोइरालाले अहिले सात रोपनी क्षेत्रफलमा कुनो एकीकृत कृषि फार्म सञ्चालन गरेर रिङनेक जातका कालिज कृषिकर्मतिर पनि आफूलाई स्थापित गर्दैहुनुहुन्छ । बन्दाबन्दी छ । धेरैलाई दिन बिताउन मुस्किल छ । कोइलाला भने फार्ममा कालिजसँग रमाइरहनुभएको छ । गत भदौमा फ्रान्सबाट ल्याएका अण्डालाई काठमाडौँमा ह्याचिङ गरेर ५०० चल्लाबाट शुरु गरिएको फार्मबाट अहिलेसम्म चार हजार चल्लाको बिक्री वितरण भइसकेको छ । यहाँबाट देशका विभिन्न कालिज फार्ममा चल्ला जाने गरेको उहाँको भनाइ छ । दैनिक पाँच÷सात जना कालिजबारे बुझ्न र खरिदका लागि फार्ममा पुग्ने गरेका छन् । अहिले दुई हजार ५०० बढी चल्ला हुर्किरहेका छन् । यो व्यवसायमा उहाँका ठूलो बुबाका छोरा कविन्द्र कोइरालले पनि साथ दिइरहनुभएको छ ।
कोइरालाका अनुसार नौ महिनामा कालिजले अण्डा दिन शुरु गर्छ । प्रतिचल्ला रु एक हजार ५०० र परिपक्व माउ रु चार हजारमा बिक्री हुँदै आएको छ । भाले कालिजको तौल करिब दुई किलो र पोथी कालिज डेढकिलोसम्म हुने गरेको उहाँको भनाइ छ । अहिले भने भाले कालिजमात्रै बिक्री वितरण गरिएको छ । कोइराला भन्नुभयो, “हप्ता १० दिनको बीचमा ह्याचिङ मेसिनमा अण्डा लाने गर्छु । २४ देखि २५ दिनमा चल्ला निस्कने गर्दछ, आयातित भएपनि सहजै वातानुकूलित भएको छ, १०० अण्डाबाट ८०÷८५चल्ला निस्कने गरेको छ ।” कोइरालाले कालिजको लागि प्रोटिनयुक्त खाना आवश्यक पर्ने भएकाले आफँैले रिसिपी दिएर सोहीअनुसारको दाना बुटवलबाट मगाउने गर्नुभएको छ । कालिजले कटुस पात, नरम घाँस, काउली बन्दा पनि खाने गर्छ ।
जङ्गली कुखुरा भनेर चिनिने कालिज नेपलमा पाल्न र सिकार गर्न प्रतिबन्ध छ । तर यो विदेशबाट आयाति रिङनेक जातिको कालिज हो । यो पाल्न र बिक्री वितरणमा सरकारले अनुमति दिएको उहाँको भनाइ छ । कोइरालाले आफ्नो उत्पादनलाई आफैँ बेच्न सोही ठाउँमा रेष्टुरेण्ट पनि सञ्चालन गर्नुभएको छ । “कालिजको मासु स्वादिष्ट हुने भएकाले यसको माग पनि बढिरहेको छ, आफ्नो उत्पादनको बिक्रीलाई सहज बनाउनका लागि हामीले रेष्टुरेण्ट पनि सञ्चालन गरका हौँ । यो सँगै कृषिजन्य अन्य कार्यलाई पनि थप्दै जाने सोच छ । अहिले पाँच रोपनी क्षेत्रफलमा माछापालनको तयारी भइरहेको छ”, कोइरालले भन्नुभयो ।
उहाँले आसपासको क्षेत्रमा होमस्टे कटेज सञ्चालनको गर्ने योजनालाई पनि अगाडि बढाउने तयारी गर्नुभएको छ । सात कर्मचारी रहेको फार्ममा रु डेढ करोडको लगानी भइसकेको छ । मनोरम सुन्दर दृश्यवलोकनसहित गुँदेताल छेऊमा रहेको कुनो एकीकृत कृषि फार्मको उत्पादनलाई फेवाताल छेऊमा पनि विस्तार गर्ने उहाँको अर्को योजना छ । कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाहरुले कालिज फार्मको बारेमा रुचि देखाएको र सामाजिक सञ्जालमार्फत जानकारी लिइरहेका छन् । “अहिले कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाले यस व्यवसायका बारेमा चासो राख्नुभएको छ । सम्भव भएसम्म जानकारी दिइरहेको छु”, उहाँले भन्नुभयो ।
भविष्यमा आवश्यक परे यसका बारेमा तालिम सञ्चालन गरेरै युवाहरुलाई कृषि कर्ममा प्रेरित गर्न आफू तयार रहेको उहाँको भनाइ छ । कालिज फार्ममा भेटिनुभएका पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सोवित पौडेलले कालिजको मासु निकै स्वादिष्ट हुने भएकाले खरिदका लागि आएको बताउनुभयो ।
नेपालमा हिमाल पहाड र तराईमा गरेर आठ प्रकारका कालिज पाइने गरेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पाइने कालिजमा डाँफे, मुनाल, फोक्रास, कालिज, चिलिमे, चिर, मुजुर र लुइँचे जातिका छन् । नेपालमा रहेका कालिज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार पाल्न र सिकार गर्न निषेध गरिएको छ ।