–कृष्ण न्यौपाने
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्र धार्मिक तीर्थस्थल देवघाटमा साढे तीन करोडका योजना निर्माण शुरु गरिएको छ ।
समितिले आफ्नो कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुरमा रु तीन करोड ४९ लाखका योजना निर्माणको काम शुरु गरेको हो । तनहुँको देवघाट गाउँपालिका–५ तर्फ रु ७० लाख, चितवनको भरतपुर महानगरपालिका–१ तर्फ रु दुई करोड ५४ लाख र नवलपुरको गैँडाकोट नगरपालिका–२ तर्फ रु २५ लाखका योजनाको काम शुरु भएको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । योजना निर्माणका लागि गण्डकी प्रदेश सरकार, वाग्मती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।
समितिका अध्यक्ष पौडेलका अनुसार गण्डकी प्रदेशगत तथा गाउँपालिकागत योजनाबाट रु १५ लाखको लागतमा टाउनचोकबाट गलेश्वर आश्रम मार्ग ढलान, सामाजिक विकास मन्त्रालयको रु सात लाखको लागतमा देवघाट समाज कल्याण केन्द्रको कम्पाउण्ड वाल निर्माण, देवघाट गाउँपालिकाको रु १५ लाखको लागतमा कार्यालय भवनमाथि ट्रस निर्माणकार्य शुरु गरिएको छ ।
त्यस्तै क्षेत्र विकास समितिको पूँजीगत योजनाबाट रु १५ लाखको लागतमा धार्मिकमार्ग निर्माण तथा स्तरोन्नति, रु छ लाखको लागतमा मणिमुकुन्देश्वर उद्यान व्यवस्थापन, रु सात लाखको लागतमा हरिहरचोकबाट महेशमार्ग ढलान, रु एक लाखको लागतमा निर्मित संरचना मर्मत, रु दुई लाखको लागतमा सूर्य पञ्चायन मन्दिर र रु दुई लाखको लागतमा देवघाट कालिका मन्दिर निर्माण सुधारकार्य शुरु गरिएको छ । चितवनतर्फको क्षेत्रमा वाग्मती प्रदेशबाट सशर्त अनुदानतर्फ प्राप्त रु ८० लाखले छ, प्रदेश मन्त्रालयबाट प्राप्त रु एक करोड ६२ लाखले तीन र समितिको पूँजीगततर्फका रु १२ लाखले छ योजना निर्माण शुरु गरिएको छ । सबै योजना चालू आवकै असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
चितवनतर्फ प्रहरी चौकी अगाडीको दाहसंस्कारतर्फ रहेको गल्छी नियन्त्रणका लागि रु २५ लाख, रामजानकी बालिका आश्रम भवन निर्माणका लागि रु १५ लाख, रामजानकी गार्गी कन्या गुरुकुलम स्नानगृह तथा शौचालय निर्माणका लागि रु १० लाख, दाहसंस्कारस्थलमा सार्वजनिक शौचालय निर्माणका लागि रु १० लाख, बागेश्वरी समावेशी गुरुकुलम भवन मर्मतका लागि रु १० लाख र वैदिक धर्मशाला नजिकको चौतारी पुनःनिर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।
त्यस्तै देवघाट कल्पवास पदमार्ग निर्माणका लागि रु एक करोड, सार्वजनिक शौचालय निर्माणका लागि रु ४० लाख, दाहसंस्कारतर्फ पहिरो नियन्त्रणका लागि रु २२ लाख, सत्य साइकेन्द्र ट्रस निर्माणका लागि रु तीन लाख, एनआरएनए वृद्धाश्रम कम्पाउण्ड निर्माणका लागि रु तीन लाख, बागीश्वरी गौसंरक्षण केन्द्रका लागि रु दुई लाख, रामनगर माध्यमिक विद्यालय सुधार एवं स्तरोन्नतिका लागि रु एक लाख, रामजानकी गार्गी कन्या गुरुकुलम सुधार एवं स्तरोन्नतिका लागि रु दुई लाख र आमा कल्याण समाज कृष्ण मन्दिर सुधार एवं स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ ।
नवलपुरतर्फ गण्डकी प्रदेश सरकारबाट प्राप्त रु १० लाखले मौलाकालिका केलादी सिँढीमार्ग निर्माण, समितिको पूँजीगत योजनाबाट रु एक लाखको लागतमा मनकामना आमा समूहको मन्दिर स्तरोन्नति, रु चार लाखको लागतमा गङ्गाधाममार्ग निर्माण, रु तीन लाखको लागतमा जग्गा संरक्षण, रु दुई लाखको लागतमा फिरी, हर्दीमार्ग निर्माणका काम शुरु भएको छ । यी सबै योजना चालू आव असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । “असार मसान्तभित्र सम्पन्न गर्ने सङ्कल्पसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ”, पौडेलले भन्नुभयो, “साना केही योजनाबाहेक अरु सबै योजना बोलपत्र प्रक्रियाबाटै ठेक्का लागेको हो ।”
दमौली अस्पतालमा सघन उपचारकक्ष निर्माण शुरु
जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि ः कोभिड–१९ अवसर बनेको छ ।
विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचारकक्ष निर्माणका लागि काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो । अस्पतालको पुरानो भवनलाई सघन उपचारकक्ष बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
सघन उपचारकक्षका लागि भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । सोही रकमबाट पाँच श्यया क्षमताको सघन उपचार कक्षका लागि पूर्वाधार निर्माण गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार सघन उपचार कक्षका लागि आवश्यक सामग्री खरिदका लागि रु एक करोड ६९ लाख बजेट विनियोजन भइसकेको छ । बोलपत्र प्रक्रियामार्फत सामग्री खरिद गर्नुपर्ने र बन्दाबन्दीका कारण सामग्री आपूर्तिमा केही कठिनाइ भएको उहाँको भनाइ छ । “सघन उपचारकक्षका लागि असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँका अनुसार कोभिड–१९ अस्पतालमा पूर्वाधार विकासको अवसर बनेको आएको छ ।
“अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचारकक्ष निर्माण हुन लागेको छ, कोभिड–१९ यसका लागि अवसर बनेर आयो”, उहाँले भन्नुभयो, “कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचारकक्ष निर्माण हुन सक्दैनथ्यो होला ।”
जिल्लास्तरीय अस्पतालमा नै सघन उपचारकक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडाँै पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । “कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसीयूसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “तत्कालका लागि आइसीयूकक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसीयू कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।”
पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।
विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलायसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स÷अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन÷असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।