नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ । उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव ०७७÷७८ को बजेटमा समावेश नगरिएको उल्लेख छ ।
नगर प्रमुख डा धवलशम्शेर राणाको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘उपमहानगरपालिका आफैँले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपूरक र विशेष अनुदान माग गरी समयभित्रै पठाइएको स्मरण गराउन चाहन्छौँ ।’
उपमहानगरपालिकाका अनुसार समपूरक अनुदानस्वरुप वडा नम्बर २० मा कृषि क्याम्पस निर्माण र कान्तिताल सुधार तथा नगरका १३ वटा वडामा कार्यालय निर्माणका योजनामा रु २५ करोड माग गरेको थियो । सोमध्ये रु १२ करोड ५० लाख संघीय सरकारसँग माग गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
यसैगरी विशेष अनुदानका लागि फोहोरमैला व्यवस्थापन, विशेष शैक्षिक कार्यक्रम र लक्षितवर्ग कार्यक्रमका लागि रु १६ करोड ४७ लाख ४० हजार बजेटबाट ६ कार्यक्रम माग गरिएको जनाइएको छ ।
क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन सुझाव
कोरोना संक्रमित बढेर थप आइसोलेशनको आवश्यकता भइरहेका बेला बाँकेमा भने सञ्चालित क्वारेन्टिन नै व्यवस्थित हुन सकेका छैनन् । जिल्लाका स्थानीय तहले अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाए पनि उचित व्यवस्थापन गर्न नसक्दा त्यहँींभित्रैबाट संक्रमण फैलिने र थप जोखिम निम्तिने सम्भावना रहेको पाइएको छ । प्रदेश नं ५ प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले नेपालगञ्ज, खजुरा र वैजनाथस्थित क्वारेन्टिन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा क्वारेन्टिनको यस्तो अवस्था देखिएको बताएको छ ।
टोलीले बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सिमलघारी, वैजनाथको बरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टिनको अवलोकन गर्नाका साथै व्यवस्थापक, जनप्रतिनिधि तथा त्यहाँ आश्रितसँग छलफलसमेत गरेको थियो ।
आइसोलेशनको अवस्था सामान्य रहे पनि क्वारेन्टिन भने सरकारले जारी गरेको मापदण्डानुसार नहुनाका साथै क्षमताभन्दा बढी व्यक्ति राखिएका कारण व्यवस्थापनमा अनेक समस्या देखिएको टोलीको निष्कर्ष छ । केही क्वारेन्टिनमा उचित शौचालय, खानेपानीलगायतको समस्या देखिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो पनि छ ।
टोलीद्वारा अवलोकन गरिएकामध्ये सिमलघारी क्वारेन्टिनको अवस्था झनै नाजुक रहेको पाइएको छ । बयासी जना रहेको सिमलघारीमा खाजाबाहेक खाना स्वयं ल्याउनुपर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रितको गुनासो छ । अवलोकन टोलीमा अधिकारकर्मी, सञ्चारकर्मीलगायतको पनि सहभागिता थियो ।
अवलोकनपछि सचेतक हमालले क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको प्रतिक्रिया जनाउनुभयो । उहाँले प्रदेशका अन्य जिल्लाका क्वारेन्टिनको अवस्था पनि अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो । RSS