गण्डकी प्रदेशको प्रवेश नाका आँबुखैरेनी गाउँपालिका–३ मा पर्ने दरौदी र मस्र्याङ्दी नदीको दोभानमा शवदाहस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत फागुनदेखि शुरु भएकामा अब करिब २० प्रतिशत कार्य बाँकी रहेको जनाइएको छ । विगतका वर्षदेखि नै वर्षायामको समयमा शव जलाउन स्थानीयवासीले समस्या खेप्नु परेपछि उक्त स्थानमा व्यवस्थित शवदाहस्थल निर्माण शुरु गरिएको थियो ।
सांसद विकास कोषबाट रु ५० लाख बजेट विनियोजन भएपछि स्थानीयवासी उत्साहित भएर श्रमदान कार्यमा जुटेको रामशाह घाट निर्माण समितिका अध्यक्ष अमृत कुँवरले जानकारी दिनुभयो ।
असार मसान्तभित्र सम्पन्न गर्ने गरी आवश्यकताअनुरुप जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो । उक्त स्थानमा हिउँदे र बर्खे समयमा शव जलाउने गरी छुट्टाछुट्टै दुई स्थानमा शवदाहस्थल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “हिउँदमा नदी किनारमा र बर्खामा नदीभन्दा केही दूरी माथि निर्माण गरिएको शवदाहस्थलमा शव जलाउने व्यवस्था गरिएको छ ।”
आँबुखैरेनी गाउँपालिकाका वडा नं २, ३, र ४ बासिन्दाले समेत उक्त स्थानमा शव जलाउन सुविधा लिन सक्नेछन् ।
वडाध्यक्ष पूर्णबहादुर आलेले भन्नुभयो, “हिउँदे शवदाहस्थलको ढलान सम्पन्न गरी बर्खे शवदाहस्थलको ढलान कार्य थालिएको छ ।”
मलामी बस्न छानो स्लाब ढलान गर्ने कार्य रहेको निर्माण समितिले जनाएको छ । सोही वडास्थित शिवमन्दिर, गुम्बा र आँबुखैरेनी क्याम्पसको भौतिक संरचना संरक्षण गर्नका लागि जोगाउने गरी नदी किनारमा तटबन्ध कार्यसमेत थालिएको छ । तटबन्धनका लागि गण्डकी प्रदेश सरकारबार रु ४० लाख विनियोजन भएको बताइएको छ ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिका–१ को सत्रसयदेखि आँधीमूलसम्म जाने सडकको कालोपत्र कार्य थालिएको छ । गाउँपालिकाद्वारा रु एक करोड बजेट विनियोजन गरेपछि निर्माण कार्य अघि बढाए पनि काम गर्ने जनशक्ति नहुँदा निर्माण कार्यमा समस्या भएको आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष किसन थापाले बताउनुभयो ।
करिब ८०० मिटर दूरीको उक्त सडक कालोपत्र गर्नका लागि नाला खन्ने र ग्राभेल गर्ने कार्य भइरहेको छ । धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आँधीमूल जाने मार्गमा कालोपत्र गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सो क्षेत्रमा वनभोजमा आउने व्यक्तिका लागि व्यवस्थित ट्रष्ट निर्माण गरिएको छ । हावाहुरी आउँदा र पानी पर्दाको समयमा आँधीमूल आउने मानिसले दुःख भोग्नुपरेपछि सुरक्षितसँग बस्न मिल्ने गरी ट्रष्ट निर्माण गरिएको हो ।
जथाभावी वन फँडानी हुन थालेपछि आँधीमूल क्षेत्रका वनलाई घेराबार गरी सुरक्षित गरिएको छ । करिब ९०० मिटर दूरी क्षेत्रफलमा रु १५ लाखको लागतमा तारबार गरी वनमा कोही पनि पस्न नमिल्ने गरी व्यवस्था गरिएको छ ।
सो गाउँपालिकामा रहेका छ वडामध्ये १ नं वडाले आफ्नो भवनसमेत निर्माण गरी सकेको बताइएको छ । अन्य वडा कार्यालयले पनि जग्गा किन्ने र कुनैले निर्माण गर्ने तयारीमा लागेको आँबुखैरेनी गाउँपालिका कार्यालयले जनाएको छ । करिब रु ८२ लाखको लागतमा एक ढलानको भवन निर्माण सम्पन्न हुन लागेको वडाध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाका सबै स्थानीय तहमा भएका विकास निर्माणका योजना समयावधिभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।
ज्येष्ठ नागरिक भवन शुरु
जिल्लाको व्यासनगरपालिका–१ स्थित चारकुनेमा ज्येष्ठ नागरिक बस्ने भवन निर्माण कार्य थालिएको छ । गण्डकी प्रदेश सरकारकाद्वारा रु १० लाख बजेट विनियोजन भएपछि भवन निर्माण गर्न थालिएको हो । सार्वजनिक जग्गामा केही विवाद देखिएपछि शनिबार वडा प्रतिनिधि, टोल विकास संस्था, ज्येष्ठ नागरिक र स्थानीयवासीबीच छलफल गरी सहमतिमा पुगेपछि हिजैदेखि जग खन्ने कार्य शुरु गरिएको हो ।