जिल्ला समन्वय समिति कास्कीको एक टोलीले मादी गाउँपालिकामा सञ्चालित विकास निर्माण योजनाको अनुगमन गरेको छ । संवैधानिक व्यवस्थाअनुसार गाउँपालिकाभित्रका सङ्घ, प्रदेश र स्थानीय तहद्वारा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गरेको हो ।
निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधिक एवं जनप्रतिनिधिसँग सञ्चालित योजनाका सम्बन्धमा टोलीका संयोजक एवं जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी लिनुभएको हो । योजनामा गुणस्तरीय पहिलो सर्त भएको बताउँदै उहाँले गुणस्तरीयताका आधारभूत मापदण्ड सम्बद्ध सबै पक्षले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा गाउँपालिकाअन्तर्गत सङ्घीय योजना पोखरा उपमहानगरपालिका– १३ कसेरी र मादी– ५ जोड्ने विजयपुर खोला माथि रु पाँच करोड ५७ लाख र प्रदेशको रु ६९ लाखमा मादीका वडा नं ३ र ७ जोड्ने मादी नदीमाथि ज्याम्दुको पक्कीपुलको स्थलगत अनुगमन गरिएको हो ।
त्यसगरी अनुगमन टोलीले निर्माणाधीन काहुँखोला सिक्लेस एवं कसेरी, भैँसे हुँदै गाउँपालिकाको केन्द्र जोड्ने याङ्जाकोट सडक र जिसस मौज्जुदा कोष ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा रु पाँच करोड १७ लाख ७२ हजार ५०९ लागतमा निर्माण भइरहेका सात वडा कार्यालय भवनको जानकारी लिएको थियो ।
कोभिड–१९ पैmलिन नदिन घोषित बन्दाबन्दीमा पनि गाउँपालिकाका अधिकांश विकास निर्माणका योजनाले निरन्तरता पाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो । बजेट विनियोजन भए पनि समयमा कार्यविधि नबन्ने र झण्झटिलो खरिद ऐन तथा अप्ठ्यारो वन नीतिका कारण विकास निर्माणकार्यमा बाधक बन्ने गरेको उहाँले अनुगमन टोलीसमक्ष दुखेसो सुनाउनुभयो ।
गाउँपालिकाले भौतिक विकासँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले बन्दाबन्दीसँगै कृषकले बाँझो जग्गा जोत्न थालेपछि लामो समयको अन्तरालमा सबैभन्दा बढी गोरुको खरिद बिक्री भएको उहाँले जानकारी गराउनुभयो ।
कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकाका प्रत्येक टोलमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले भारतबाट आएका १५ जना राखिएको बताउँदै अध्यक्ष गुरुङले उनीहरुको खाना, विद्युत् र खानेपानीको व्यवस्था गाउँपालिकाले गरेको जानकारी दिनुभयो । बाह्रवटै वडाबाट सङ्कलित तथ्याङ्कअनुसार गाउँपालिकाका दुई हजार १०० जना विदेशमा रहेका छन् । अनुगमन टोलीमा जिसस उपाध्यक्ष सावित्री भण्डारी, प्रमुख समन्वय अधिकारी नवराज बराललगायत प्राविधिक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । RSS