कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुई/दुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा कमलराज शर्मा र प्रा डा रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ । जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।
कनकासुन्दरी गाउँपालिकामा डा शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा प्रवीण गिरी र डा अर्जुन तिवारी खट्ने भएका छन् । यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा महिमा थापालाई खटाइएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गर्नुभएको थियो । गाउँपालिकाले क्वारेन्टिनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो ।
यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुँदा सङ्कटको घडीमा पनि समस्या भएको गाउँपालिकाले जनाउँदै आएको छ ।
यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टिनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सबै स्थानीय तहमा एक÷एक चिकित्सक पठाउने प्रतिबद्धता जनाएको थियो । यसैगरी गाउँपालिकाका एकीकृत क्वारेन्टिनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
कोरोना रोकथामका लागि युवा परिचालन
जुम्ला– कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टिनसम्म लैजानका युवा परिचालन भएका हुन् । बाहिरबाट को नागरिक आएर उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टिनमा बस्ने के गर्दै गरिरहेको भन्ने निगरानी गर्नका लागि पनि युवा दर्ता परिचालन गरिएको चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयोे, “लकडाउनको समयमा पनि जथाभावी मानिस भेला हुने, पसल खोल्ने गरेकाले जनसेवा युवा क्लबका युवा परिचालन गरिएको हो । बाहिरबाट आएका मानिस सोझै आफ्नो घर जाने गर्ने गरेकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि पनि युवा प्रयोग गरिएको हो ।”
त्यसैगरी चन्दननाथ नगरपालिका–२ ले पनि स्वयंसेवक परिचालन गरेको छ । आफ्नो वडाको सीमा क्षेत्रका विभिन्न नाकामा स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिनुभयो । वडाको दक्षिणको कालेखोली, पूर्व धाइफाला र उत्तरको भण्डारीबाडालगायत नाकामा स्वयंसेवक परिचालन गरी कडाइ गरिएको हो ।
प्रत्येक नाकामा दुई/दुई स्वयंसेवक परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्ने भएको वडाध्यक्ष धनरासी भण्डारीको भनाइ छ । सीमाबाट अत्यावश्यक काममा मात्र आउजाउ गर्न दिइनेछ । अत्यावश्यक काम परे वडा कार्यालयमा जानकारी गराउनुपर्ने वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्ने पनि व्यवस्था गरिएको छ । नगरभित्रका अन्य वडाका नागरिक पनि आउन नपाइने र अन्य वडामा पनि जान रोक लगाइएको छ ।
हिमा गाउँपालिका–३ का स्थानीय युवाले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन् । १९ वैशाखदेखि स्थानीयवासीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन् । युवाले जोगीवाडा गाउँका सर्वसाधरणलाई अन्य गाउँमा जान नदिने र अन्य गाउँकालाई पनि प्रवेश निषेध गरेका छन् । गाउँघरमा लकडाउनको पूर्ण पालन नगर्ने र आवतजावत धेरै भइरहने भएकाले आफ्नो गाउँलाई सङ्क्रमणबाट जोगाउने भन्दै उनीहरुले चार नाका बन्द गरेका छन् ।
वडाको दक्षिणको साँघु, उत्तरको ताल्छे, पूर्वको तलम र पश्चिमको बोयलढुङ्गाका नाका बन्द गरेको स्थानीय युवा सत्यानारायण योगीले जानकारी दिनुभयो । विपद्बाट आफू र गाउँवासीलाई बचाउन वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । प्रवेश गर्ने नाकामा मान्छे राखेको छ । कोही प्रवेश गरेको खण्डमा त्यो व्यक्तिले १५ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको योगीले बताउनुभयो । ती व्यक्तिले क्वारेन्टिनमा बस्दाको खाना खर्च स्वयंले व्यवस्थापन गर्नुपर्ने भनिएको छ । गाउँतिर कामको सिजन शुरु भएकाले पनि विभिन्न बहानामा एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नेको सङ्ख्या बढेको भन्दै यस्तो कार्य गरेको त्यहाँका स्थानीयवासीको भनाइ छ । RSS