तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले बन्दाबन्दीकै बीचमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले प्रभावित वडास्तरीय विकास निर्माणका कामलाई निरन्तरता दिइएको हो ।
बन्दाबन्दीबाट प्रभावित भएर राहत बुझेका वडाभित्रका मजदुरलाई काममा खटाएर भौतिक विकास निर्माणका कामलाई सुचारु गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । “बन्दाबन्दीबाट काम नपाएर समस्यामा परेका मजदुरलाई राहत वितरण गरेका थियाँै, सोही मजदुरलाई राहत होइन काम दिने उद्देश्यले विकास निर्माणका कामलाई शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । दैनिक ज्यालादारी गर्नेहरु बन्दाबन्दीकै क्रममा पनि काम पाएपछि खुशी भएका छन् ।
वडा कार्यालयले चालू आर्थिक वर्षका लागि विनियोजित भएको बजेटबाट खानेपानी योजनाको ट्याङ्की निर्माण, बाटो सुधार, दुर्गा मन्दिर निर्माणलगायतका काम शुरु गरेको छ । ती सबै कामका लागि वडा कार्यालयले १५० मजदुरलाई रोजगारी दिएको छ । उहाँका अनुसार छरछरे खानेपानी योजनाको एक लाख लिटर क्षमताको ट्याङ्की निर्माण, ढोरवाराही मन्दिर जाने मार्ग, दुर्गामार्ग सुधारको काम शुरु गरिएको छ ।
“सधँै राहत दिनेभन्दा पनि काम गर्ने वातावरण मिलाइदिन मजदुरले आग्रह गरेपछि उनीहरुलाई काममा लगाएका छौँ”, उहाँले भन्नुभयो । मजदुरको सङ्ख्या अत्यधिक भएकाले सबैलाई सम्बोधन गर्न नसके पनि केहीको चुलो बाल्ने प्रयास गरिएको रेग्मीले बताउनुभयो ।
वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । आगामी दिनमा पनि बन्दाबन्दीको क्रममा सडकमा नाला निर्माण तथा मर्मत एवं सरसफाइ, कृषि तथा उत्पादनमूलक क्षेत्रमा मजदुर खटाइनेछ । त्यसरी काममा खटाइएका मजदुरलाई सरकारी दररेटअनुसारको पारिश्रमिक उपलब्ध गराइनेछ । “अहिले राहतभन्दा पनि कामको खाँचो रहेको पायौँ, राज्यले सधैँ राहत मात्र दिन सक्दैन”, उहाँले भन्नुभयो, “त्यही भएर मजदुरलाई राहतको विकल्पमा काम दिएका छाँै ।”
रिपोर्ट नेगेटिभ
भारतबाट जिल्ला फर्किएर क्वारेन्टिनमा बसिरहेका तनहुँका ३२१ जनाको स्वाब परीक्षण गरिएकामा १८० को रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएकामा १८० को रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले रिपोर्ट नेगेटिभ आएकामध्ये २६ महिला र १५४ पुरुष रहेको जानकारी दिनुभयो ।
कार्यालयका अनुसार व्यास नगरपालिकाका ५४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ को रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका १० स्थानीयका क्वारेन्टिनमा आजसम्म ४६९ जना पुगेका छन् भने ५६७ श्ययाको क्वारेन्टिन बनाइएको छ ।