रोजगारीका लागि भारत गएका स्थानीय फर्किने क्रम बढेसँगै दाङमा क्वारेन्टिन अभाव हुन थालेको छ । स्थानीय सरकारले क्वारेन्टिन निर्माण त गरेका छन् तर भारतबाट कति नेपाली आउने हुन् भन्ने अनुमान नै नगरी बनाइएका क्वारेन्टिन अपुग भएका कारण यहाँ समस्या उत्पन्न भएको छ । भारतबाट आउनेलाई एक वडाले अर्को वडामा राख्न नदिने अडान लिन थालेपछि बन्दाबन्दीको समयमा स्थानीय नागरिकै विरोधका कारण क्वारेन्टिनको अभाव देखिएको हो । वडागतरुपमा देखिएका सानातिना विवादलाई स्थानीय सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै गएको छ ।
भारतले रेलसेवा श्ुरु गरेपछि करिब १५ दिनअघि नै ठूलो सङ्ख्यामा नेपाली घर आइपुग्ने निश्चित भइसकेको थियो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समेत केही दिनअघि दाङ पुगेका बेला कम्तीमा ६ हजार दाङवासी आउने जानकारी गराउँदै आवश्यकतानुसार क्वारेन्टिन र आइसोलेशन सेन्टर निर्माण गर्न स्थानीय सरकारलाई निर्देशन पनि दिनुभएको थियो । स्थानीय पालिकाले वडागतरुपमा क्वारेन्टिन निर्माण गर्न वडा कार्यालयलाई निर्देशन पनि दिए । तर अझैसम्म थप क्वारेन्टिन निर्माणको काम भएको छैन । जसका कारण भारतबाट आउने नेपाली क्वारेन्टिनको अभावमा खुला आकाशमै रात काट्न बाध्य भएका छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ लालीगुराँस टोलका चारजना गत बिहीबार राति १० बजे घोराही उपमहानगरपालिका प्रवेश गरे । उनीहरुलाई उपमहानगरपालिकाको गाडीबाट वडा नं ६ को क्वारेन्टिन रहेको जजरागाउँमा पु¥याइयो तर कोठा खाली नभएपछि उनीहरु त्यही गाडीमा टोलका अध्यक्षको घर पु¥याइयो । टोलका अध्यक्षको घर अगाडि उनीहरुलाई राति २ बजे छोडेर उपमहानगरपालिकाको गाडी घोराही फर्कियो ।
टोलका अध्यक्ष फनबहादुर डाँगीले वडाध्यक्षलाई सम्पर्क गर्दा उहाँको फोन अफ रहेकाले भारतबाट आएका चारमध्ये एकजनाको घर खाली गरी त्यहीँ व्यवस्थापन गर्नुभयो । यसको भोलिपल्ट शुुक्रबार टोलवासीले विरोध जनाए । टोल अध्यक्षको नातापर्ने भएकाले उनीहरुलाई घनाबस्तीको बीचमा ल्याएर राखिएको भन्दै उनीहरुले पत्रकार सम्मेलन नै गरेर विरोध जनाए ।
गत शनिबार प्रतिभा टोलका तीनजनालाई पनि त्यसरी नै नगरपालिकाको गाडीले जजरागाउँको क्वारेन्टिन बाहिर छोडेर फर्कियो । क्वारेन्टिनको गेटमा ताला लगाएकाले उनीहरुले गेट बाहिरै रात बिताउन बाध्य भए । त्यस रात खेतमै सुतेको उनीहरुले बताए । बिहान ८ बजे वडाध्यक्ष र प्रहरी आएर उनीहरुलाई सोही विद्यालयमा व्यवस्थापन गरेको थियो ।
वडाध्यक्ष रेबबहादुर बुढाथोकीका अनुसार वडा नं ६ मा रहेका ३६ श्ययाका क्वारेन्टिन भरिएकाले नयाँ आउनेलाई व्यवस्थापन गर्न समस्या भएको छ । क्वारेन्टिनमा भारतबाट आएका ४० जना बसिरहेका छन् । “नगर प्रमुखलाई अन्य ठाउँमा व्यवस्थापन गरिदिनुप¥यो भन्दा एक वडाले अर्को वडाका नागरिकलाई राख्न नदिने जानकारी आएको बताउनुहुन्छ, मेरो वडामा ठाउँ नहुँदा व्यवस्थापनमा समस्या भएको छ”, वडाध्यक्ष बुढाथोकीले भन्नुभयो ।
घोराही उपमहानगरपालिकाका १९ वटा वडामा ५२ वटा क्वारेन्टिन रहेको उपमहानगरपालिकाले जनाएको छ । ती क्वारेन्टिनमा अहिले ९२६ जना बसेका छन् । क्वारेन्टिनमा जम्मा दुई हजार १६५ श्यया सङ्ख्या रहेको उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विकास रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही श्यया खाली रहे पनि एक वडाका मानिस अर्को वडामा राख्न नदिने स्थानीयवासीको विरोधका कारण कुनै वडामा भने समस्या रहेको छ । “भारतबाट आउनेहरु एकैपटक आएकाले समस्या भएको छ भने एक वडालाई अर्को वडामा राख्न नदिने अडानका कारण झन कठिनाइ भएको हो”, रेग्मीले भन्नुभयो ।
क्वारेन्टिनमा राखेर आवश्यक परीक्षण गरी कोरोना नेगेटिभ भएमा मात्र भारतबाट आएका नेपालीलाई घर पठाउने नीति रहेको स्पष्ट पार्दै उपमहानगरपालिकाले उपयुक्त र आवश्यक स्थानमा क्वारेन्टिन स्थापना गर्ने काममा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ ।
वडागतरुपमा रहेका सरकारी तथा गैरसरकारी संस्थाका खाली रहेका भवन प्रयोगका लागिसमेत स्थानीयवासीले नदिने जनाएपछि समस्या भएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
“सरकारी स्कूल, कलेज र गैरसरकारी संस्थाका खाली भवनलाई समेत क्वारेन्टिन बनाउन नदिनेमा स्थानीयवासी लागिरहेको देखिन्छ, महामारीका बेला राज्यको सम्पत्तिसमेत सहजरुपमा प्रयोग गर्न स्थानीयवासी नै बाधक बन्नु दुर्भाग्य हो”, प्रमुख चौधरीले भन्नुभयो । विवाद नआएका स्थानमा बनेका क्वारेन्टिनमा अहिलेसम्मको व्यवस्थापन भएको र केही वडामा मात्रै समस्या रहेको उहाँको भनाइ छ । समस्या रहेका वडामा विवाद समाधानको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
भारतीय सीमाबाट आउनेको यकिन तथ्याङ्क नहुँदा पनि समस्या आएको स्थानीय पालिकाले जनाएका छन् । क्वारेन्टिन भरिएपछि गढवा गाउँपालिकाले अहिले घर खाली गरेर राख्न थालेको गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले जानकारी दिनुभयो ।
अहिले गढवा गाउँपालिकाको क्वारेन्टिनमा १८० जना राखिएको छ । तर दिनहँु भारतबाट आउनेको सङ्ख्या वृद्धि भइरहँदा पनि क्वारेन्टिनको क्षमता अझै बढाइएको छैन । “साठीजनालाई व्यक्तिकै घरमा राखेका छौँ भने अब आउनेलाई क्वारेन्टिन रहेका विद्यालयमा श्यया थप गरी राख्ने तयारी अवस्थामा छाँै”, अहिरले भन्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म दुई हजारको हाराहारीमा क्वारेन्टिन श्यया आवश्यक परे पनि जम्मा ७०० श्ययामात्र व्यवस्थापन भएको छ । स्थानीय तहले भारतबाट आउनेको आँंकलन गर्न नसक्दा आइसोलेशन श्यया र क्वारेन्टिन निर्माणमा समस्या आएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।
अहिले उपमहानगरपालिकामा रहेका क्वारेन्टिनमा ३०४र जना रहेका छन् भने अझै तीन हजारको हाराहारीमा भारतबाट आउने अनुमान उपमहानगरपालिकाको छ । तर क्वारेन्टिन थप गर्नेतर्फ पालिकाले अझै तयारी गरेको छैन । भारतबाट आउनेहरु दिनदिनै बढिरहँदासमेत क्वारेन्टिनको क्षमता वृद्धिका लागि पहल नगर्दा समस्या हुने देखिएको जनस्वास्थ्य निरीक्षक केसीले बताउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार केही सामुदायिक विद्यालय समुदायकै बीचमा भएका कारण क्वारेन्टिन स्थापनामा अवरोध आएको हो । “समुदायबाट विरोध आएपछि हामी अन्य स्थानको खोजीमै छौँ”, प्रमुख पाण्डेले भन्नुभयो ।
तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० श्यया र तुलसीपुर उद्योग वाणिज्य सङ्घले क्वारेन्टिन सञ्चालनका लागि उपमहानगरपालिकालाई भवन उपलब्ध गराएको अवस्थामा अन्य सामुदायिक विद्यालयले समेत यसबाट पाठ सिक्नुपर्ने पाण्डेको भनाइ छ ।
लमही नगरपालिकामा अहिलेसम्म भारतबाट आएका १०१ जनालाई क्वारेन्टिनमा राखेको नगरपालिकाले जनाएको छ । भारतबाट आउनेको सङ्ख्या वृद्धि भइरहेको समयमा १०० क्षमताको क्वारेन्टिन बनाएकामा स्थानीयवासीको विरोधपछि ४८ श्यया र अन्य विद्यालयमा गरी १२५ श्ययाको क्वारेन्टिन लमहीमा छन् । वडा नं १ को सूर्य मावि नर्तीमा नयाँ बनाइएको क्वारेन्टिनमा सातजनालाई राखिएको छ भने वडा नं २ को हिमाल आधारभूत विद्यालयमा ६ जनालाई व्यवस्थापन गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभएको छ ।
नगरपालिकाले नगरभित्रका सरकारी संरचना प्रयोग गर्न चाहे पनि स्थानीयवासीको विरोधका कारण अहिले श्यया सङ्ख्या थप गर्न अन्य स्थानको खोजी भइरहेको उहाँले बताउनुभयो । “कोरोनाको सङ्क्रमण फैलिने डरले बस्तीका बीचमा भएका विद्यालय प्रयोग गर्न स्थानीयवासीले मानेका छैनन्”, नगरप्रमुख केसीले भन्नुभयो । अहिले लमही नगरपालिकाको क्वारेन्टिनमा ८८ जना रहेका छन् ।
जिल्लाभरिको तथ्याङ्क हेर्ने हो भने पनि अहिलेसम्म भित्रिएकालाई क्वारेन्टिनको क्षमताले थेग्न नसकेको देखिन्छ । जिल्लाको राजपुर गाउँपालिकाको चार स्थानमा भएका क्वारेन्टिनमा २३० श्यया सङ्ख्या रहेको छ भने अहिले ६४ जना रहेका छन् ।
त्यस्तै राप्ती गाउँपालिकामा ३२९ श्यया रहेकामा २८६ जना रहेका छन् । शान्तिनगर गाउँपालिकामा ६० श्ययाको क्वारेन्टिनमा २५ जना रहेका छन् । बङ्गलाचुली गाउँपालिकामा ९६४ श्ययाको क्वारेन्टिनमा ८२३, बबई गाउँपालिकामा ३० श्ययाको मात्रै क्वारेन्टिनमा ४० जना, दङ्गीशरण गाउँपालिकाको २३ श्ययाको क्वारेन्टिनमा २४ जना रहेको कोभिड–१९का जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।