सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको टोलीले सोमबार दार्चुलामा रहेका पत्रकारसँग अन्तक्र्रिया गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण पत्रकारले भोग्नुपरेको समस्या, सुरक्षा योजना र आगामी योजनाबारे अन्तक्र्रिया गरेको हो ।
सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घका अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावललगायतको टोलीले जिल्लास्थित पत्रकारसँग जिल्लाको अवस्था र पत्रकारले खेलेको भूमिका र पत्रकारको अवस्थाबारे अन्तक्र्रिया गरेको छ । कोभिड–१९ का कारण पत्रकार पनि जोखिममा पर्ने गरेको भन्दै सुरक्षा सावधानी पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्करसिह धामीले कोभिड सङ्क्रमणका बीचमा पनि जिल्लामा रहेका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सङ्क्रमणको अवस्थामा पनि यहाँको समस्या, भइरहेको गतिविधि र सीमा क्षेत्रको मुद्दालाई सशक्तरूपमा उठाएको अध्यक्ष धामीले बताउनुभयो ।
यस्तै जिल्लामा रहेका पत्रकारले कोरोना सङ्क्रमणका बेला जिल्लाका पत्रकार अग्रपङ्क्तिमा गएर खटिएको भन्दै पत्रकारको स्वास्थ्य परीक्षण पिसीआर गराउनतर्फ महासङ्घले भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । यस्तै यो अवधिमा खटिएका पत्रकारको बीमा, रेडियो तथा पत्रपत्रिका लकडाउनका कारण समस्यामा परेको भन्दै उनीहरुको नवीकरण रोयल्टीमा छुट, विद्युत् टेलिफोन महसुल छुटलगायतमा महासङ्घले नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले अहिलेको अवस्थामा पत्रकारले सावधानी अपनाएर रिपोर्टिङमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो सुरक्षा आफ्नै हो, त्यसपछि मात्रै काम गर्ने हो ।” अहिलेको अवस्थामा लापरवाही गर्न नहुनेमा जोड दिँदै उहाँले एकसाताभित्रै पत्रकारको बीमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशभरिका पत्रकारको बीमा एक साताभित्रै हुन्छ, हाल प्रदेशभरि एक हजार पत्रकार क्रियाशील छन् ।
यस्तै प्रदेश महासङ्घले जिल्लामा रहेका पत्रकारका लागि चाहिने सुरक्षा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष अर्जुन शाहले पत्रकार महासङ्घ दार्चुला शाखा अध्यक्ष शङ्कर धामीलाई मास्क, स्यानिटाइरज पञ्जालगायतका सुरक्षा सामग्री हस्तान्तरण गर्नुभयो ।