र्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा पाइने रातो माछा मर्न थालेपछि यसको अस्तित्व सङ्कटमा पर्दै गएको छ । नेपाल सरकारले घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने बराहपोखरीमा पाइने दुर्लभ रातो माछा पछिल्लो समय दैनिकजसो मर्न थालेपछि यसको अस्तित्व सङ्कटमा पर्दै गएको हो ।
बराहपोखरीमा गत तीन÷चार महिनादेखि दैनिकजसो माछा मरिरहेको पाउने गरिएको स्थानीय बासिन्दा एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता निश्चल खड्काले बताउनुभयो । “यसअघिसम्म पोखरीमा टाढाबाटै राताम्य खेलिरहेको रातो माछा देखिने गरेकामा अहिले मरेको माछा तैरिरहेको भेटिने गरेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय दैनिक दुई÷चारवटा माछा मरेर पोखरीमाथि तैरिरहेको भेटिए पनि अहिलेसम्म रातो माछा मर्नुको कारण पत्ता लागेको छैन ।”
मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा पछिल्लो समय बढ्दो फोहरमैलाका कारण रातो माछा मर्न थालेको स्थानीय बासिन्दाको दाबी छ । पोखरीमा स्थानीय बासिन्दाले नुहाउने र लुगा धुने गर्दा बढेको फोहरमैला र साबुनको असरका कारण रातो माछा मरेको हुन सक्ने अनुमान गरिएको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका वडाध्यक्ष टङ्क मगरले बताउनुभयो ।
पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य सङ्क्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्न थालेको हुन सक्ने माछासम्बन्धी जानकारहरु बताउँछन् । पोखरीको सरसफाइमा ध्यान नपुग्दा फोहरका कारण अक्सिजन कमी हुँदासमेत माछालाई असर पुगेको माछा विज्ञको बुझाइ छ ।
जिल्लाको एकमात्र ठाउँ बराहपोखरीमा पाइने रातो माछा सुनकोशीबाट बथानका बथान आउने पानी हाँसले समेत खाने गरेको स्थानीय बासिन्दाले बताएका छन् । बिहानपख सुनकोशीबाट बथान नै उडेर आउने हाँसको पञ्जाबाट उम्किए पनि हाँस ठुँगेको चोटका कारण पनि माछा मर्ने गरेको उनीहरुको भनाइ छ ।
दुर्लभ रातो माछा संरक्षण गर्न स्थानीय बासिन्दाले हाँस धपाउने प्रयास गरे पनि पर्याप्त हुन नसकेको वडाध्यक्ष मगरले बताउनुभयो । पानी आउने मुहान र निकास हुने स्थान नदेखिए पनि बाह्रै महिना टम्म पानी हुनु बराहपोखरीको विशेषता हो ।
परापूर्वकालमा स्थानीय १२ घर मगरबस्ती डुबेर पोखरी बनेको भन्ने कथनका साथ बराहपोखरी नाम रहेको इतिहास छ । ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइमा फैलिएको बराहपोखरीमा रातो माछा नासिने चिन्तामा स्थानीयवासी छन् । जिल्लाकै प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने भए पनि विकास, संरक्षण र संवद्र्धनको अभावमा बराहपोखरी ओझेलमा परेको छ ।
बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शंङ्ेश्वरको पूजा आराधना गरेमा चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । चारैतिर जङ्गलले घेरिएरबीच भागमा बनेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भन्ने अपेक्षासहित जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि नुहाएर पूजा आराधना गर्ने प्रचलन रहेको छ ।
हरिबोधनी एकादसी, रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने बराहपोखरीको पानीमा नुहाए मोक्ष पाउने विश्वासका साथ नुहाउने गरिन्छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजा आराधना गरेमा सन्तान पाइनेसमेत जनविश्वास रहिआएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गर्नेक्रमसमेत बढ्दै गएको छ । लामो समयदेखि बराहपोखरीको नाममा रहेको सयौँ रोपनी जग्गा पछिल्लो समय स्थानीय बासिन्दाले अतिक्रमण गरेर घर तथा टहरा बनाएर बसोबास गर्दै आएका छन् ।