गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को विरुद्धको लडाइँमा मतैक्यता व्यक्त गरेका छन् । प्रदेशसभाको आजदेखि शुरु बर्खे अधिवेशनमा बोल्दै विभिन्न प्रमुख संसदीय दलका नेताहरूले विश्वलाई नै तहसनहस बनाएको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट बन्नुको विकल्प नभएको बताए ।
प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले कोरोना साझा समस्याका रुपमा उभिएको बताउँदै यसको सबैले मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समितिसहित अर्थ व्यवस्थापन, आपूर्ति, अनुमगन जस्ता समिति गठनका साथै १० वटा विषयगत समिति गठन गरिएको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले प्रत्येक समितिले आ–आफ्ना तर्फबाट क्रियाशील रुपमा काम गरिरहेको उल्लेख गर्नुभयो । “हाम्रो साझा शत्रु गरिबी र कोभिड–१९ हो, यसको सबै मिलेर सामना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यस समयमा पार्टीपार्टी बीचको लडाइँ वाञ्छनीय होइन, आफ्नै पार्टी भित्रकै लडाइँ त त्याज्य र आलोच्य हो ।”
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा विकास गर्न लागिएको बताउँदै मुख्यमन्त्री गुरुङले उक्त अस्पतालमा सबै किसिमका सुविधा भएका कारण बनाउन लागिएको स्पष्ट पार्नुभयो । बन्दै गरेको नयाँ ब्लकमा आइसोलेशन वार्ड बनाउन लागिएको बताउँदै उहाँले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित पोखराका अन्य अस्पतालमा गरी एक सयवटा आइसोलेशन श्यया राखिएको उल्लेख गर्नुभयो । कोरोना भाइरस विरुद्धको सङ्घर्ष गरिरहँदा सङ्घीयताको औचित्य थप पुष्टि गरेको उहाँको भनाइ छ । नेपालको सीमा सम्बन्धमा वर्तमान सरकारले हराएको सीमा समावेश गरी आँट गरेर नक्सा प्रकाशन गरेको बताउँदै उहाँले सङ्घ सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको महामारीका विरुद्धमा एकजुट भएर लाग्नुपर्ने वर्तमानको आवश्यकता भएको बताउनुभयो । कोरोना सङ्क्रमण भित्रन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीलाई सर्वसाधारणले इमान्दारिताका साथ पालना गरेको बताउँदै उहाँले सीमामा अलपत्र रहेका नेपालीलाई सुरक्षित रुपमा ल्याएर उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेटिनुपर्ने विषयलाई उल्लेख गरी पार्टीका तर्फबाट सरकारलाई सुझावसहितको ज्ञापनपत्र प्रस्तुत गरिएको बताउँदै उहाँले त्यसको उचित सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका ११ वटै जिल्लामा नेपाली काँग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक सङ्गठनले राहत तथा उद्धारका काममा लागेको स्मरण गराउँदै उहाँले बन्दाबन्दीले श्रमिक तथा विपन्न वर्ग विशेष रुपमा समस्यामा परेको बताउनुभयो ।
विपन्न श्रमिकदेखि उद्योग व्यवसायीलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन उहाँले सुझाव दिनुभयो । कोरोना अस्पताल प्रत्येक जिल्लामा साधनस्रोत सम्पन्न हुनुपर्नेमा त्यो हुन नसकेको औँल्याउँदै नेपालीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना विशेष अस्पताल बनाउँदा वीरगञ्जमा जस्तो अवस्था आउनसक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । तत्काल अलग्गै सुविधा सम्पन्न कोरोना विशेष अस्पताल बनाउनुपर्ने बताउँदै उहाँले प्रदेश सरकारले कोरोनाका कारण परेको नकारात्मक प्रभावलाई कम गर्न गरिरहेका गतिविधि आम नागरिकलाई जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले कोरोना भाइरसको महामारीलाई पराजित गर्नु अहिलेको सामूहिक दायित्व भएको बताउनुभयो । विश्वव्यापी महामारीमा नेपाली अछुतो रहन नसकेको उल्लेख गर्दै उहाँले पालिका, जिल्ला, प्रदेश र सङ्घका अस्पताल हेर्दा हामी कमजोर रहेको उल्लेख गर्दै उहाँले यी सबैलाई व्यवस्थित गर्न सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताउनुभयो । कैयौँ नागरिकले रोजगारी गुमाउँदा जीवनयापन गर्न समस्या रहेकामा जोड दिँदै उहाँले भारतको सीमामा रहेका नेपालीलाई ल्याएर उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । परीक्षण किट लगायतका समस्यालाई समाधान गर्न उहाँले आग्रह गर्नुभयो ।
नयाँ शक्ति पार्टी (हालको राष्ट्रिय समाजवादी जनता पार्टी) का संसदीय दलका नेता हरिशरण आचार्यले कोरोना भाइरसका कारण धेरै चुनौतीहरू थपेको बताउँदै यसको सामना गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । नेपालका लाखौँ मानिस विदेशमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई स्वदेशमा ल्याउने र व्यवस्थापन गर्ने चुनौती रहेको धारणा राख्नुभयो ।