ऐतिहासिक तथा पुरातात्विक वस्तुको पहिचान बनाएको पाल्पामा पुरानै शैलीमा बाटोको विस्तार गरिँदैछ ।
जिल्लाको सदरमुकाम तानसेन बजार क्षेत्रको सडकमा ढुङ्गा छापेर पुरानै सुन्दरता जोगाउने कोशिस भएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।
पुरातात्विक सम्पदाको सङ्ग्रहका रुपमा परिचित पाल्पामा सडक सञ्चालन गर्दा हँुदा काममा बाधा पुग्ने भएकाले बन्दाबन्दीको समयमा मापदण्डअनुसारको सामाजिक दूरी कायम गरी काम गरिएको उहाँकोे भनाइ छ ।
पाल्पा दरबार, भगवती मन्दिर तथा शीत्तलपाटी यहाँका पुराना शैलीका घरले पाल्पामा पर्यटकलाई आकर्षण गर्ने आधार रहेका बेला कैयौँ वर्ष पहिले ढुङ्गा छापेर बनाइएको बाटो विस्तारमा पिच गरिए पनि फेरि अहिले नगरपालिकाले यसको स्वरुप परिवर्तन गरेको हो । २० जना कामदारबाट सामाजिक दूरी कायम गरी काम भइरहेको र यसबाट नगरको सौन्दर्य नै फरक बनेको निर्माण व्यवसायी केदारप्रसाद चौलागाईं बताउनुहुन्छ ।
चालू आवको जेठ महिनादेखि थालिएको काम केही समय रोकिएर अहिले पुनः शुरु गरिएको छ । नगरपालिकाको चालू आवको रु एक करोड ८३ लाखको लागतमा ६ इञ्चको ढुङ्गा सोलिङ, त्यसमाथि ६ इञ्चको ढलाइ, सिमेन्ट ढलाइमाथि ग्रेनाइट ढुङ्गा छाप्ने काम भइरहेको र ५० प्रतिशत पूरा भएको छ ।
करिब ७५० मिटर लम्बाइमा ढुङ्गा बिछ्याउने जिम्मा सिएम शिवालय जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको जिम्मा पाएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिनुभयो । उहाँले विभिन्न स्थानीय तहसँग समन्वय गरी निर्माण सामग्रीको व्यवस्थापन मिलाएको पनि बताउनुभयो ।
नगरका सबै वडासम्म सडक निर्माण तथा चौडा बनाउने कामसमेत जारी छ । तानसेनको भगवतीस्थान, शीत्तलपार्टी, मखनटोल, हुलाकचोक क्षेत्रमा ढुङ्गा बिछ्याइँदैछ ।
जिल्लाका विभिन्न विकास निर्माणका कामलाई समेत निरन्तरता दिन थालिएको छ । प्रदेश सरकारको सहयोगमा एक जिल्ला एक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले तानसेनको श्रीनगरमा सांस्कृतिक डबलीे निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको रु ६ करोडभन्दा बढीको लागतमा सामाजिक दूरी कायम गरी आठजना कामदारबाट काम भइरहेको नगरपालिकाले जनाएको छ ।