शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ । बन्दाबन्दीका समयमा स्थानीय सरकारको नियम विपरीत फलफूल तथा तरकारी ढुवानी गरेको भन्दै ग २ च ८४७ नम्बरको मिनीट्रकलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।
जिल्लाका दश वटै स्थानीय तहले बाहिरी जिल्लाबाट आउने फलफूल तथा तरकारीमा पूर्ण रुपमा रोक लगाउने तथा स्थानीयस्तरमा उत्पादन गरिएका तरकारी स्थानीय स्रोत र साधनको प्रयोग गरी बिक्रीवितरण गर्न दिने निर्णय गरेका थिए । स्थानीय सरकारले पटक पटक सूचना जारी गरी नियम उल्लङ्घन नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेको पाइएकाले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको नगर प्रमुख किसान गुरुङले जानकारी दिनुभयो । जिल्लाभित्र उत्पादन भएका फलफूल तथा तरकारी ढुवानी भने निर्बाध गर्न अनुमति दिइएको छ ।
एचआइभी संक्रमितलाई एआरटी र पौष्टिक आहार
एचआइभी संक्रमितका क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट गु्रप तनहुँले जिल्लाभित्र रहेका एचआइभी संक्रमितको घरघरमा पुगेर एन्ट्रिरेक्टल भाइरल थेरापी (एआरटी) र पौष्टिक आहार प्रदान गरेको छ । बन्दाबन्दीका समयमा ७० संक्रमितलाई एआरटी र ४३ जनालाई पौष्टिक आहार घरघरमा पुगेर प्रदान गरिएको हो ।
राष्ट्रिय एचआइभी महासंघ नेपाल र सेतु नेपालको सहयोगमा १८ वर्षमुनिका बालबालिका र ४५ वर्ष उमेर नाघेका अतिविपन्न संक्रमित परिवारलाई पौष्टिक आहार वितरण गरिएको कम्युनिटी सपोर्ट गु्रपका कार्यक्रम संयोजक श्रीराम कँडेलले जानकारी दिनुभयो । बालबालिकालाई रु दुई हजार र ४५ वर्ष नाघेकालाई रु एक हजार ६ सय बराबरको पौष्टिक आहार वितरण गरिएको छ ।
तनहुँमा चौबिस बालबालिकासहित ३१३ संक्रमितले नियमित रुपमा एआरटी सेवन गर्दै आएकामा बन्दाबन्दीको समयमा एआरटी लिन छुटेकाहरुलाई सम्पर्क गर्दै घरसम्म लैजाने काम गरिएको कार्यक्रम संयोजक कँडेलले जानकारी दिनुभयो । संखुवासभा, सिन्धुली, नवलपरासी, लमजुङ, गोरखालगायत जिल्लामा कार्यरत भई हाल बन्दाबन्दीका कारण घर फर्किएका १४ संक्रमितलाई समेत संस्थाले एआरटी सेवा प्रदान गर्दै आएको बताइएको छ ।