कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।
यार्सागुम्बालगायतका अन्य बहुमूल्य जडिबुटीको चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर गस्ती शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । हप्ता दिनअघि यार्सागुम्बा चोरीका लागि उपल्लो डोल्पामा केही व्यक्ति फेला परेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको छ ।
जाजरकोट, डोल्पा, रुकुमपश्चिम र जुम्लालगायतका जिल्लाका स्थानीयवासी डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने गरेका थिए । यार्सागुम्बा रोक लगाएसँगै यहाँका सबै स्थानीयवासी रोकिएका छन् ।
कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी सबै नाकासमेत बन्द गरिएको छ । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्नका लागि पाटनमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभयो ।
जिल्लामा रहेका डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वनमा नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको छ । सामुदायिक वनमा जगदुल्ला गाउँपालिकामा १०, ठूलीभेरी नगरपालिकाको माझफालमा २०, छार्कामा २० र काइके गाउँपालिकाको ठाँगेमा १० गरी ६० सशस्त्र प्रहरी यार्सा पाटनमा पठाएको सशस्त्र प्रहरी बल ४६ नं गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक चेतसिंह थापाले जानकारी दिनुभयो ।
सामुदायिक वनमा पनि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको समेत उहाँले जानकारी दिनुभयो । “हामीले स्थानीय सरकार र सामुदायिक वनका प्रतिनिधिसँगको सहकार्यमा यार्सा पाटनको सुरक्षा गर्नेछौँ, चोरीका कुनै पनि क्रियाकलाप हुने छैनन्, यसमा सुरक्षाकर्मीलाई स्थानीयवासीले पूर्णरुपमा साथ दिएका छन्”, उहाँले भन्नुभयो ।
त्यसैगरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सागुम्बा पाटनमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । रञ्जितकारले जिल्लाको माझफालमा १४, जगदुल्लामा ११, ठाँगेमा १०, नावरपानीमा १० र छार्काको तालपाटनमा १० जना गरी ५० प्रहरी सम्बन्धित क्षेत्रमा पुगेर नियमित गस्ती गरिरहेको उहाँको भनाइ छ । अन्य चौकीमा पनि प्रहरी पुगेकाले यार्सागुम्बा पाटनको सुरक्षामा कुनै कमी नभएको दाबी उहाँले गर्नुभयो ।
अघिल्ला वर्षहरुमा जेठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटन खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसका कारण जिल्लाका सबै पाटन बन्द गरिएकाले नेपाली सेना, प्रहरी र स्थानीयवासीको पहलमा यार्सा पाटन चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभयो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका सबै पाटनमा एक साता पहिलेदेखि नै नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको र थप सुरक्षा व्यवस्था बढाइरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।
डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वन र डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वन गरी दुई किसिमका वनमा यार्सागुम्बा पाइने गर्दछ । लकडाउनको मौका छोपी चोरी निकासी गर्ने कार्यसमेत रोकिएको उहाँको भनाइ छ । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला हो । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पा जाजरकोट, रुकुम र जुम्लासँग समेत सीमा जोडिएको छ ।