८ असार मुग्लानी खबर
पैसाले पैसा तान्छ' भन्ने भनाइ त हाम्रा लागि नौलो होइन। स्कुलको पाठ्यक्रममै 'ध्रुव भन्ने एक पात्रले पैसाले पैसा कसरी तान्छ' भनेर हामीले पढेका पनि छौं। परापूर्वकालदेखि चलिआएको यो भनार्इलार्इ चरितार्थ गर्ने किसिमका वास्तविकता हामी सामु छन्। धनी झन् झन् धनी भैरहेकाछन् र यहि भनार्इलार्इ पुष्टि गरिरहेका छन्। पछिल्लो समयमा धनी र गरिव बीचको खाडल बढ्दै गैरहेको छ तर किन यस्तो भैरहेछ?
वास्तवमा धनाढ्यहरु आम मान्छेले भन्दा फरक ढंगले लगानी गर्छन्। उनीहरु आफ्नो पैसा यसरी लगानी गरिरहेका छन् कि, त्यसको प्रतिफल एकदमै बढि हुन्छ। र, उनीहरुको सम्पत्ति झन् झन् बढ्छ। जब हाम्रो हातमा केही बढि पैसा पर्छ, हामी अलि खुलेर खर्च गर्छौ। केही आफ्ना ब्यक्तिगत किनमेलमा त केही परिवारका लागि खर्च गर्छौ। त्यसबाट पनि बच्यो भने मात्र कुनै म्युचुअल फण्डमा लगानी गर्छौं होला। तर धनाढ्यहरु यस्तो पैसाले कुनै ब्यक्तिगत किनमेलमा होइन कि, घरजग्गा वा कुनै कलाकृति वा कुनै नयाँ कारोबार वा काममा लगानी गर्छन्। जस्तै शिकागोका जोशुआ कोलम्यानलार्इ नै हेरौं। उनले पैतृक सम्पती बेचेर ४० करोड डलर पाए। त्यो रकमलार्इ उनले फजुल खर्च गरेर उडाएनन्। उनले कम्पनी खोले, जसले मानिसहरुलार्इ कर, कानुन तथा पैसाको ब्यबस्थापन सम्बन्धि जानकारी दिने गर्छ। उनको यो ब्यापार मज्जाले चलिरहेको छ। यदि तपार्इ आफूसँग भएको पैसाले कुनै नयाँ काम गर्ने सोच राख्नुहुन्न भने, तपार्इं अल्ट्रा रिच हुनुहुन्न। अल्ट्रा रिच भनेका ती धनाढ्यहरु हुन् जोसँग कमसेकम तीन करोड डलर सम्पत्ति हुन्छ। ती मानिसहरु बिभिन्न किसिमका शेयरमा लगानी गरी जोखिम उठाउँछन्। र मनग्गे कमाउँछन् पनि।
उनीहरु हवाइजहाज किनेर भाडामा लगाउँछन्। यस्तै उनीहरु यस्ता कलाकृति तथा महँगा कारहरु किन्छन्, जुन भविष्यमा बहुमुल्य हुन सक्छन्। जोशुआ कोलम्यान यसलार्इ ‘अल्फा रिस्क’ अर्थात धेरै ठूलो जोखिम भन्छन्। तर, बिना जोखिम प्रतिफल पनि त हुन्न! सफलताका लागि यस्ता जोखिमहरु जरुरी हुन्छन्, जसलार्इ धनाढ्यहरुले बहन गर्छन्। धनाढ्यहरु केही यस्ता लगानी गर्छन्, जुन आममानिसहरुलार्इ जानकारीसम्म पनि हुँदैन। उनीहरु क्लोज इन्डेड फन्डहरुमा पैसा लगाउँछन्। यस्ता फण्डहरुमा लगानी ५ वर्षका लागि हुने गर्छ। पाँच वर्षका लागि लगानी गरेर उनीहरु धेरै नै प्रतिफल हासिल गर्छन्। यसैगरी धेरै धनाढ्यहरुले हवाइजहाज किनेर एयर लाइन्सहरुलार्इ भाडामा दिने गर्छन्।
लण्डनको एसेट म्यानेजमेन्ट कम्पनी फ्लेमिंग एण्ड पार्टनर्सका इयान मार्शका अनुसार, उनका धेरै ग्राहक डोरिक नामको कम्पनीसँग आबद्ध छन्। यो कम्पनी हवाइजहाज किनेर ठूला एयरलाइन्सहरुलार्इ भाडामा लगाउने गर्छ। जब जहाज बिक्री हुन्छ, त्यसले उनीहरुको लगानीको प्रतिफल पनि प्राप्त हुन्छ। भाडामा लगाएर उनीहरुले आफ्नो लगानीमा बर्षेनी ९ प्रतिशतसम्म प्रतिफल पाइरहन्छन्। यसमा सुरुवाती लगानी दश हजार यूरोबाट सुरु हुन्छ। यसैगरी धेरै धनाढ्यहरुले जग्गासमेत खरीद गरिराख्छन्। जोसँग जति धेरै पैसा हुन्छ, त्यसैको आधारमा उनीहरु प्रोपर्टी किन्छन्। विश्वमा नै जनसंख्या बढेसँगै खेती योग्य जमीनहरु कमी हुँदैछन्। यसैले धनाढ्यहरुले खेतीयोग्य जमीनहरु किनेर राख्ने गर्छन्। किनकी भविष्यमा यस्ता जमीनहरुको मूल्य निकै बढ्ने गर्छ। धनाढ्यहरु दूरदर्शी हिसाबले लगानी गर्छन्। खेतीयोग्य जमीनमा लगानी गरेमा उनीहरुको पूँजी वर्षेनी न्यूनतम पनि ४ प्रतिशतका दरले बढ्ने गर्छ। यसैगरी जमीनको पनि मूल्य वर्षेनी बढिरहेको हुन्छ। यस्तै धनाढ्यहरुले रक्सीको ब्यवसायमा समेत लगानी गरेर राम्रो कमाइ गरिरहेका हुन्छन्।
सानो कुनै नयाँ कम्पनीमा पनि पूँजी लगाउन उनीहरु खप्पिस हुन्छन्। केही कम्पनीहरु पनि छन्, जसले खेतीयोग्य जमीन खरिद गर्छन्। त्यस्तो जमीनमा आफ्नो शेयर लगानीसमेत गर्ने गर्छन्। धनाढ्यहरु आफ्नो कम्पनी सुरु गर्ने मात्र होइन अन्य धेरै किसिमका सेक्टर र कम्पनीहरुमा लगानी गर्छन्। शिकागोका जोशुआले नै यति धेरै कम्पनीहरुमा लगानी गरेका छन् कि, उनलार्इ नै थाहा छैन उनी मालिक भएका कम्पनीहरु कति छन् भनेर। उनी अधिकांस निजी इक्विटी फर्मका साथै अन्य लगानीकर्ताहरुसँग मिलेर फास्ट ग्रोइङ कम्पनीहरुको शेयर खरिद गर्छन्। अब सम्झौं त, जजसले गुगल, इन्फोसिस्, एप्पल वा रिलायन्सको सुरुवाती बेलामा शेयर लगानी गरेका थिए आज उनीहरुले कति मुनाफा कमाइरहेका होलान्! आज कति धेरै धनाढ्यहरु आफ्नो निजी कमाइ ‘स्टार्ट-अप’ कम्पनीहरुमा लगानी गरिरहेका छन्। यसमा जोखिम त छ तर भविष्यमा यसबाट आउने प्रतिफल धेरै हुने भएकोले धनाढ्यहरु यस्तो जोखिमको मजा लिने गर्छन्। कुनै सानो कम्पनी द्रुत गतिले अघि बढेको हेर्नु र सामान्य लगानीको भन्दा २० गुणा धेरै प्रतिफल लिनसक्नु ‘स्टार्ट-अप’ कम्पनीमा लगानीको विशेषता हो।
कसैलार्इ घडीको, कसैलार्इ पुरानो कारहरुको त कसैलार्इ रक्सी वा कलाकृतिको शोख हुनसक्छ। यस्ता शोखहरुले पनि धनी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। धनीहरु महँगो कलाकृति किन्छन्, गाडीहरु किन्छन्। किनभने त्यसको मूल्य भविष्यमा घट्दैन, अझ बढ्छ। त्यसलार्इ बेचेर उनीहरु धेरै कमाउन सक्छन्। यस्तो सामानहरुको बिक्रीबाट सामान्यतया १५ देखि २० प्रतिशतसम्म नाफा हुन्छ। यदि यस्ता सामाग्री किन्न पैसा छैन भने कतिपय फण्डहरुले पनि यस्ता काम गर्छन्। जस्तै अमेरिकामा ‘द वाइन इन्भेष्टमेन्ट फण्ड’ छ जसले महँगा रक्सीहरुको कारोबारमा लगानी गर्छ। त्यसको शेयर पनि किन्न सकिन्छ। यसैगरी कलाकृतिमा लगानी गर्ने कम्पनीहरुको शेयरसमेत किन्न सकिन्छ। धेरै धनाढ्यहरु घर तथा फ्ल्याटहरु खरीद गरेर राख्ने गर्छन्। ठूला शहरहरुमा यस्ता घर तथा फ्ल्याटहरुमा लगानी गर्नु फाइदाजनक हुन्छ। घर तथा फ्ल्याटहरु किनेर भाडामा लगाउने र उपयुक्त मुनाफा पाएपछि बेच्ने पनि गरिन्छ। धेरै रियल स्टेट इन्भेष्टमेन्ट ट्रस्टहरु हुन्छन् जसले स-सानो रकम संकलन गरी यस्ता घर तथा फ्ल्याट किन्न लगानी गर्छन्। यसरी धनाढ्यहरुले कुनै एउटा क्षेत्र वा कम्पनीमा मात्र लगानी गरेर चित्त बुझाएर बस्दैनन् उनीहरु धेरै जोखिम लिन्छन् र आफ्नो पूँजी लगानी गरी थप पूँजी वा प्रतिफल प्राप्त गर्छन्। यसरी उनीहरु पैसाले पैसा तान्छन्।
बिबिसीको आलेख