शक्तिपीठ गोरखनाथ मन्दिरमा सवालाख रोट चढाइएको छ । शान्तिको कामना गर्दै गोरखनाथको मन्दिरमा १७औँ पटक सो सङ्ख्यामा रोट चढाइएकोे हो । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा रोटलाई लिइन्छ । रोट चढाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि वैशाख पूर्णिमाको दिनदेखि ११ दिनसम्म रोट चढाइएको हो ।
गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने आयोजक सिद्धाश्रम शक्ति केन्द्रका गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयोे । तत्कालीन नेपाल एकीकरणका समयमा सेनाहरूलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइ लड्न सकेको भन्ने भनाइ यहाँको शिला लेखमा पाइन्छ ।
“एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने परिकार हो”, उहाँले भन्नुभयो, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” सानो–सानो आकारमा तयार गरिने रोटलाई नाथ प्रजातिका व्यक्तिले शुद्व भई मन्त्र जप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ । गत वर्षहरुमा धार्मिक महोत्सवकै रुपमा कार्यक्रम गरी रोट चढाउने गरिँदै आएको भए पनि यो वर्ष भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण ११ दिनसम्म नै पूजाआजा गरी सामान्यरुपमा रोट चढाइएको उहाँले बताउनुभयो ।
महोत्सवमा हरेक वर्ष सयौँ भक्तजनको सहभागिता हुने भए पनि यो वर्ष बन्दाबन्दी भएकाले जिल्लाभित्रका भक्तजनसमेत सहभागी हुन नपाएको उहाँले बताउनुभयो । “विगतका वर्षहरुमा पनि नेपाल र विश्वशान्तिको काम गर्दै गुरु गोरखनाथलाई रोट अर्पण गरिन्थ्यो उहाँले भन्नुभयो, “यो वर्ष पनि विश्वभर कोरोना सङ्क्रमणको महाविपत्ति भएकाले विश्वका सबै नागरिकको कोरोना सङ्क्रमणको मुक्तिको कामना गर्दै रोट अर्पण गरियो ।” यो वर्ष भक्तजनले गुरु गोरखनाथलाई रोट चढाउन नपाए पनि शक्ति केन्द्रले नै सवालाख रोट चढाएको उहाँको भनाइ छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनका रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले गुरु गोरखनाथलाई रोट चढाउँदै आएको छ । यसपटक परम्परालाई निरन्तरता दिनमात्र रोट चढाउने कार्यक्रम गरिएको संयोजक अकेलाको भनाइ छ । विगत १७ वर्षदेखि गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कीर्तन, पूजापाठ गर्न सयौँ भक्तजनको उपस्थितिमा हुन्थ्यो, उहाँले भन्नुभयो, “अहिले केन्द्रको भवनमा ह्वन र गुफामा सिद्धाश्रम शक्ति केन्द्रका सीमित साधक साधिकाले मात्र गोरखकाली मन्दिरसँगै रहेको गोरखनाथ मन्दिरमा पूजापाठ गरेर आइतबारसम्म रोट चढाइएको हो ।”
कोरोनाको सङ्क्रमण जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बिना तामझाम रोट चढाउने कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । विगतमा सवालाख रोट महोत्सवमा गोरखा बजारदेखि ¥याली, बाजागाजासहित गोरखनाथ मन्दिरमा पुग्ने, भजन कीर्तन तथा सांस्कृतिक झाँकी तथा ह्वन र विशेष पूजा गरिने भए तापनि यसपटक भने त्यस्ता कुनै पनि कार्य नगरिएको केन्द्रले जनाएको छ । रोट घरमा नाथ समुदायका दुई÷तीनजना नाथले ११ दिनसम्म एक लाख ४० हजार रोट तयार गरेका थिए ।