पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको छ ।
स्थानीय लालीगुराँस ग्रामीण विद्युत् सहकारी संस्थामार्फत आयोजनाको काम थालनी गरिएको हो । नाकाबन्दी, सामान, गाउँमा सडकलगायत विविध समस्याका कारणले आयोजनाको काम ढिलो हुन पुगेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो ।
गत शनिवारदेखि वडा नं ४ का करीब ९५ र ६ का १६५ घरधुरीमा बिजुली बल्न शुरु भएको छ । आजभन्दा पन्ध्र दिनअघि वडा नं ५ का गाबुडाँडा, राइकोट, धनुबास र खरकडाँडा गाउँका करीब पाँच सय घरधुरीमा विद्युत् सुविधा पुगिसकेको छ । सो वडाका बाँकी गाउँ तथा बिजुली पुग्न बाँकी रहेका गाउँपालिकाका वडा नं ३ र ७ मा पनि विद्युतीकरणको काम भइरहेको छ । विद्युतीकरणका लागि एक घरधुरीबाट रु पाँच हजार शुल्क लिइएको छ ।
तेत्तीस केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन रहे पनि अहिले यहाँ ११ केभी क्षमताको विद्युत् विस्तार गरिएको हो । पाँच वडामा गरेर करीब दुई हजार सात सय धरधुरी सो आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यस वर्षभित्र गाउँका बाँकी सबै घरधुरीमा बिजुली बाल्ने योजना छ । टुकी, लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा प्रणालीका भरमा जीवन गुजारा चलाउन बाध्य यहाँका नागरिक अहिले घरघरमा बिजुली पुगेपछि खुशी भएको मित्यालवासी तथा मौलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडाले बताउनुभयो ।
विद्युत् महसुल बुझाउन भीड
लमही– विद्युत् महसुलमा छुट दिइने निर्णय भएपछि नेपाल विद्युत् प्राधिकरण कार्यालयमा विद्युत् महसुल बुझाउनेको भीड लाग्ने गरेको छ । प्राधिकरणले गार्हस्थ (सामुदायिकसमेत ) वर्गका १५० युनिटसम्मको विद्युत् खपत गर्ने ग्राहका हकमा चैत र वैशाखको विद्युत् बिलको इनर्जी शुल्क न्यूनतम सेवा शुल्कबाहेक मा २५ प्रतिशत छुट दिने निर्णयपछि प्राधिकरणमा महसुल बुझाउनेको बाक्लो भीड लागेको हो ।
यही जेठ ६ गतेसम्म बुझाए छुटको व्यवस्था गरिएकाले पनि बढी भीड देखिएको प्राधिकरण तुलसीपुर शाखाका प्रशासन प्रमुख युवराज विष्टले भन्नुभयो । उहाँका अनुसार हाल २०७६ चैत र २०७७ वैशाखसम्मलाई सो छुट दिइएकाले दैनिक सयौँ उपभोक्ता शुल्क तिर्न आउँछन् । प्राधिकरणले महसुल अनलाइनबाटै घरबाट तिर्न मिल्ने भएकाले सो सुविधा प्रयोग गर्न आग्रहसमेत गरेको छ । प्राधिकरण तुलसीपुर शाखामा करीब ४० हजार ग्राहक छन् ।