लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित दोर्दी गाउँपालिकाका बासिन्दालाई काठमाडौँमा राहत वितरण गरिएको छ ।दोर्दीबाट काठमाडौँ आई बसेर दैनिक ज्याला मजदूरी गर्ने, अध्ययन गर्ने तथा अन्य पेशा व्यवसाय गरेका दोर्दीबासीलाई कोरोना हेल्प डेस्क दोर्दी–काठमाडौँ र अर्चलबोट काठमाडौँ एकता समाजको सहजीकरणमा खाद्य पदार्थ वितरण गरिएको हो ।
काठमाडौँका विभिन्न स्थानमा रहेका दुई सय दोर्दीबासीलाई प्रतिव्यक्ति एक बोरा जिरा मसिनो चामल, दुई किलो दाल, एक लिटर तेल, साबुन, नूनलगायत सामग्री वितरण गरिएको स्थानीयवासी शिव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा काठमाडौँमा राहत वितरण गरिएको हो । दोर्दीबासी तथा लोकगायक निराजन कुँवर, सुवास शर्मालगायतले राहत वितरणमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँमा रहेका स्थानीयवासीलाई समस्या भयो भन्ने गुनासो आएपछि गाउँपालिकाले मजदूर र विद्यार्थीलाई प्रतिव्यक्ति रु दुई हजार ७५ बराबरको खाद्य पदार्थ राहतस्वरुप वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले समस्यामा परेका स्थानीयवासीलाई सहयोग गरेको बताउँदै उहाँले अन्य स्थानमा समस्यामा परेका दोर्दीबासीलाई सम्पर्कमा आउनसमेत आग्रह गर्नुभयो । “लकडाउनका कारण जुनसुकै जिल्लामा रहेका दोर्दी बासीले समूह बनाएर हामीलाई सम्पर्क गर्नुहोस्, हामी हाम्रो तर्फबाट सक्ने सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।”
उहाँका अनुसार गाउँपालिकामा रहेका विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने ७९२ घरपरिवारलाई २० किलोको एक बोरा चामल, दुई किलो चिनी, दाल, तेल, साबुनलगायत सामग्री वितरण गरिएको थियो । त्यस्तै गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजना र पुनःनिर्माणमा कार्यरत ५२६ मजदुरलाई समेत राहत वितरण गरिएको र बाह्य जिल्लाबाट आएका ३८३ मजदूरलाई आफ्नो गन्तव्यमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
लकडाउनपछि बाह्य जिल्लाबाट गाउँपालिकामा आएका १० जनालाई गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ । यसअघि लमजुङकै राइनास नगरपालिकाले काठमाडौँमा रहेका ६३ राइनासबासीलाई खाद्य पदार्थ सहयोग गरेको थियो । प्रतिव्यक्ति रु दुई हजार सात सयका दरमा एक बोरा चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो नून, साबुन, भुजा, दालमोठलगायत सामग्री वितरण गरिएको थियो ।