हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका स्थानीय बासिन्दा आफ्नो गाउँमा विद्युत् विस्तार गर्न कस्सिएका छन् । छिमेकी वडा बडहरे र दुर्छिममा केन्द्रीय प्रसारण लाइनको विस्तार भइसकेको अवस्थामा च्यास्मिटारमा विद्युत् विस्तार गर्न टोलटोलमा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईको आह्वानमा बिहीबार च्यास्मिटारमा भएको बैठकले साविकको नौ वडामा विद्युत् विस्तार उपसमिति गठन गर्न प्रतिवडा एक–एक जनालाई जिम्मेवारी तोकिएको छ । बैठकले विद्युत् विस्तार गर्न विद्युत् विस्तार मूल समिति तथा वडाध्यक्षको सहजीकरणमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी तत्काल लागत स्टिमेट तयार पार्ने काम पूरा गर्ने निर्णय गरेको छ ।
कतिपय टोलको लागत स्टिमेट तयार भइसकेकाले नभएका टोलको तत्काल तयार पार्ने निर्णय गरिएको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । स्थानीय तह कार्यान्वयनमा आएको वर्षबाटै उज्यालो वडा घोषणा गर्ने अभियान थालेको नगरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा विद्युत् विस्तार गर्न बाँकी छ । च्यास्मिटारका प्रमुख क्षेत्रमा पोल राख्ने र तार टाँग्ने काम भइरहेको छ । यसअघि सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीय बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार हुने भएपछि हर्षित भएका छन् ।
सौर्य ऊर्जामार्फत खोलाको पानी तानेर दुर्छिमका ९१ घरमा वितरण
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सौर्य ऊर्जामार्फत खोलाको पानी तानेर गाउँमा वितरण गरिएको छ । खानेपानीको चरम अभाव झेल्दै आएका दुर्छिमवासीको समस्या हल गर्न तीन हजार केभिए क्षमताको सौर्य ऊर्जामार्फत खोलाको पानी निकालेर गाउँमा वितरण गरिएको हो ।
प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं २ ओखलढुङ्गाको आर्थिक सहयोगमा सौर्य ऊर्जा जडान गरेर स्थानीय राबुखोलाबाट एक हजार ६१० मिटरमाथि पर्ने गाउँमा खानेपानी वितरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र राईले बताउनुभयो । “स्थानीय बासिन्दाको लगातार तीन वर्षको प्रयासपछि बल्ल आयोजना सफल भएको छ”, उहाँले भन्नुभयो, “आयोजना सफल भएपछि पुस्तौँदेखि ढाडमा बोकेर खानेपानी प्रयोग गर्दै आएका राबु र जोरकाफलका ९१ घरका ४५७ स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।”
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ७७ लाख बराबरको नगद तथा जिन्सी सहयोग एवं उपभोक्ताको रु २३ लाख ३२ हजारको श्रमदानबाट लिफ्टिङ प्रविधिको खानेपानी आयोजना सञ्चालन गरिएको जनाइएको छ । गाउँमा भएका मुहान विसं २०७२ को भूकम्पले सुकेपछि राबुमा खोलाको पानी निकाल्ने आयोजना अघि सारिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
खोलाको पानी लिफ्टिङ गर्न मुहान नजिकै ७५ हजार लिटरको, बीचमा ५५ हजार लिटरको र राबु सिरानमा एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको छ । घाम लागेको समयमा दैनिक ५० एमएमको पाइपमार्फत बिहान ११ देखि ३ बजेसम्ममा ५४ हजार लिटर पानी गाउँमा निस्कने गरेको जनाइएको छ ।
विसं २०७६ चैत ४ गतेदेखि शुरु गरिएको आयोजनाको गत फागुन २३ गते सफल परीक्षण गरिएको थियो । विद्युत्बाट पानी लिफ्ट गर्दा महङ्गो शुल्क तिर्नुपर्ने भएकाले सो लिफ्टिङ आयोजनामा सौर्य ऊर्जा प्रयोग गरिएको हो । सोलारबाट निकालिएको पानीको शुल्क प्रतिलिटर छ पैसा लाग्ने गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो । घाम नलागेको दिन भने सोलारले काम नगर्दा लिफ्टिङको उपकरण बन्द हुने गरेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा खानेपानीको अभाव समाधान गर्ने प्रयासस्वरुप उक्त प्रविधिको आयोजना सञ्चालन गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “दुर्छिमलगायत नरपालिका क्षेत्रभित्र पर्ने सबै वडामा खानेपानीको समस्या छ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दाका घरघरमा खानेपानी वितरण गर्ने गरी बृहत पम्पिङ आयोजना अगाडि बढाइएको छ ।”
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा दूधकोशीको पानी तानेर गाउँमा वितरण गर्ने उद्देश्यले बृहत पम्पिङ खानेपानी आयोजनाको काम भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा पनि सामाजिक दूरी कायम गर्दै आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख राईले जानकारी दिनुभयो ।
यसअघि सो नगरपालिकाको वडा नं ७ मा पर्ने त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा पनि पम्पिङ प्रविधिको खानेपानी आयोजना सञ्चालन गरिएको थियो । करिब ४०० मिटर तल पर्ने रानीपोखरीबाट पम्पिङ प्रविधि अपनाएर तानिएको खानेपानी आयोजनाबाट हलेसी बजार आसपासका १५० घर उपभोक्ता लाभान्वित भएका छन् ।
जिल्लाकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा यसअघि प्रयोग गरिँदै आएको खानेपानीको मुहान सुकेपछि अहिले वर्षात्को पानी जम्मा गरेर तथा नदीबाट बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता छ । नदीबाट पानी बोकेर ल्याउने जनशक्ति अभाव भएका परिवार काकाकुल अवस्थामा रहने गरेका छन् ।