लकडाउनका कारण रोजीरोटी खोसिएकी जुम्लाको तातोपानी गाउँपालिका–५ की फाँचु दमाईलाई राहत उपलब्ध गराइएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, वडा नं ६ का वडाध्यक्ष विशाल खड्कासहित पालिकाको टोली फाँचु दमाईको घरमै पुगेर राहत उपलब्ध गराउनुभएको हो ।
मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसका दिनमा लामो लकडाउनका कारण फाँचु दमाईको रोजगारी खोसियो भन्ने समाचार प्रकाशित भएपछि उहाँलाई राहत सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । राहत सामग्रीमा एक बोरा चामल, नुन, तेललगायत रहेका छन् ।
गिट्टी कुटेरै तीन नातिनी र एक आफू गरी चार जना परिवारको गुजारा गरिरहेकी उहाँलाई जारी लकडाउनले बिहान बेलुकाको छाक नै खोसियो । २५ वर्ष पहिले श्रीमान्, तीन वर्ष पहिले छोराको मृत्युपछि बुहारीसमेत छोडेर एक्लीएकी उहाँको साहारा कोही पनि छैनन् । ज्याला मजदुरी गर्ने, गिट्टी कुटेर नातिनी र आफ्नो गुजारा चलाएकी ६५ वर्षीया फाँचु कोरोना त आफूजस्ता दिनदुखी गरिबकै लागि मात्र आएको हो कि भन्दै हरेक दिन लामो सास लिँदै सोच्नुहुन्थ्यो । तर समाचार प्रकाशित भएपछि गाउँपालिकाले राहत दिँदा उहाँ निकै खुशी हुनुभएको छ । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्ष को हुन् भन्ने थाहा थिएन ।” नचिनेको मान्छे सरासर घरको दैलोमै राहत बोकेर आउँदा भगवान्कै दर्शन पाएजस्तो महसुस भएको छ । “उहाँ गाउँपालिका अध्यक्ष रहेछन्, मजस्तो गरिब विपन्नलाई पहिलोपटक चामल नुनतेल दिए”, खुशी हुँदै फाँचुले भन्नुभयो, “छाक टार्न मात्र समस्या होइन, भत्किनै लागेको घरले निद्रा पनि लाग्दैन ।”
गाउँपालिकाका अध्यक्ष न्यौपानेले राहत हस्तान्तरण गरेपछि फाँचु दमाईको घर पनि अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले भन्नुभयो, “हामीले खोजेको राहत दिने मान्छे यस्तै हुन्, यस्तै विपन्न व्यक्तिको खोजीमा पनि थियौँ, समाचार आइसकेपछि गाउँपालिकाकै पहिलो व्यक्तिका रुपमा राहत दिइएको छु ।” लकडाउनपछि जनता आवास कार्यक्रम अन्तर्गत फाँचुको घर निर्माणका लागि पनि आफूले पहल गर्नेसमेत बताउनुभयो ।
गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले आवश्यकता अनुसार पुनः राहत दिइने बताउँदै छिट्टै राहत बाँड्नुभन्दा बास्तविक पीडितको खोजी गरेर राहत उपलब्ध गराउने हाम्रो लक्ष्य छ भन्नुभयो । उहाँले वास्तविक पीडितलाई बाहिर ल्याएर सहयोग गरिदिन हुन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।